काठमाडौ । सौरमास अनुसार प्रत्येक वर्ष साउन १ गते मनाउने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ।
सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा रहिआएको छ।
साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन शुरु हुन्छ । माघ १ गते शुरु हुने उत्तरायण र साउन १ गते शुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइने गरिन्छ ।
अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् भने त्यसैक्रममा हिलो मैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए।
एक महीना काम गर्ने किसान साउन १ गते आफन्तकासाथ जम्मा भई रमाइलो गरेर मनाउँछन् । परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फाल्ने गरिन्छ ।
लुतो फाल्दा आ–आफ्नो कुल परम्पराअनुसार नाङ्लो ठट्टाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा रहेको छ।
साउन महीनालाई विशेष रुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ । महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिएको पनि अध्यक्ष गौतमले बताए ।
साउन महिनाभर देशभरका शिवालय विशेषगरी पशुपतिनाथ लगायत अन्य मन्दिरमा भक्तजनको विशेष भीड लाग्ने गर्दछ भने साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ ।
साउन महिना एवं सोमबार शिवालयमा भक्तजनको विशेष भीड लाग्ने गर्दछ । यस वर्ष भने कोरोनाभाइरसको नयाँ भेरियन्ट सहितको सङ्क्रमणका कारण आफन्त कहाँ नगई घरमै परिवारका सदस्यबीच रमाइलो गरी पर्व मनाउँदै छन्।
सवारी खुलेकाले जानै परेमा स्वास्थ्य सुरक्षाका विधि अपनाएर भौतिक दूरी कायम गर्दै पर्व मनाउनु पर्नेमा जोड दिइएको छ।
प्रकाशित मिति: शुक्रबार, साउन १, २०७८ ००:११