राजविराज, सप्तरी । राजविराज-छिन्नमस्ता सडकखण्डको मर्मत यथाशीघ्र सम्पन्न गर्न माग गर्दै सडक बहस तथा धर्ना कार्यक्रम गरिएको छ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका-६ कोचाबखारी सडकखण्डमा बिहान १० बजेदेखि १२ ‘छिन्नमस्ता मन्दिरसम्म जाने मूल सडकको विषयमा प्रमुखसँग संवाद कार्यक्रम’ सहित सडकमा धर्ना कार्यक्रम गरिएको हो ।
राजविराजबाट १२ किलोमिटर दक्षिणमा रहेको छिन्नमस्ता मन्दिरसम्म पुग्ने बाटोको ठाउँठाउँमा खाल्डाखुल्डीका कारण पानी जमेर पोखरी बनेपछि धार्मिक पर्यटक तथा स्थानीयलाई सास्ती भएको छ ।
बाटो बिग्रेका कारण १२ किमीको यात्रा तय गर्न डेढ घण्टा लाग्ने गरेकाले अविलम्ब सडक मर्मत गर्नुपर्ने स्थानीयको माग छ। धर्नामा गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी, पूर्वमन्त्री उमेशकुमार यादव, वडाअध्यक्षलगायत जनप्रतिनिधिका साथै भक्तजन तथा स्थानीयवासी सहभागिता थियो।
अध्यक्ष विद्यानन्द चौधरीले सडक मर्मतको माग गर्दै गत असार ३० गते सडक डिभिजन कार्यालय लहानमा धर्ना तथा काठमाडौँ पुगेर मन्त्रीदेखि प्रधानमन्त्रीसम्मको ध्यानाकर्षण गराउँदा पनि आश्वासनबाहेक केही नपाइएको सुनाए ।
हिन्दूहरू चाड बडादसैँ नजिकिँदै गएकाले त्यसअघि नै सडक निर्माण तथा मर्मत गर्न दबाब स्वरुप आज सडकमै धर्ना बस्नुपरेको उनको भनाइ छ।
प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१ ०८:०२