-सन्ताेष कार्की
कटारी, उदयपुर । एकल महिलाहरुको आयआर्जन वृद्धि गर्नका लागि कटारी नगरपालिकामा ४ दिने सीपमूलक तालिम सम्पन्न भएको छ।
नगरपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको कुल २ लाख २० हजार बजेटमा एकल महिलाहरुको आर्यआर्जन वृद्धि गर्ने उद्देश्येले उक्त ४ दिने तालिम सञ्चालन गरेको हो।
नगरपालिकाको महिला विकास शाखाले बत्ति कात्ने तथा धुप बाट्ने तालिम समितिमार्फत सञ्चालन गरेको ४ दिने तालिममा नगरपालिकाका १४ वटै वडाका एकल महिलाहरुको सहभागीता रहेको थियो ।
बत्ति कात्ने तथा धुप बाट्ने तालिम समितिकी संयोजक राज्यलक्ष्मी श्रेष्ठका अनुसार ४ दिने तालिम सम्पन्न भएको छ। ‘एकल महिलाहरुलाई घरमै बसेर आयआर्जन गर्न सहज होस् भनि तालिम सञ्चालन गरेका हौँ,’ संयोजक श्रेष्ठले भनिन्, ‘तालिममा धागो वा रुवाको बत्ति कात्ने, नेपाली कागजमा धुप बाट्ने सिप सिकाइएको छ।’
उक्त सिपलाई व्यवसायिक रुपमा प्रयोगमा ल्याउन सके घरमै बसेर मासिक १५ हजारसम्म कमाई गर्न सक्ने सहायक महिला निरीक्षक समेत रहेकी श्रेष्ठको भनाइ छ।
कटारी नगरपालिकाकी महिला विकास निरीक्षक चतुरीमाया राईले उक्त तालिमले एकल महिलालाई आयआर्जनको लागि सहयोग पुगेको बताइन्। ‘बत्ति कात्ने र धुप बाट्ने काम घरमै बसेर सहज तरिकाले गर्न सकिन्छ,’ उनले भनिन्, ‘एकल महिलाहरुको आर्यआर्जनको लागि टेवा पुग्नेछ।’
तालिमको समापन गर्दै नगरपालिकाकी उपमेयर भीमकुमारी राउतले तालिममा सहभागीहरुलाई प्रमाणत्र वितरण गरेकी थिइन्। ‘तालिममा सहभागी दिदी बहिनीहरुले यस तालिमबाट सिकेको सिपलाई आयआर्जनमा बदल्नुहुन्छ भन्ने विश्वास लिएका छौँ,’ उपप्रमुख राउतले भनिन्, ‘घरमै बसेर मासिक रुपमा १५ देखि २० हजारसम्म कमाउन सकिन्छ, यो सिपलाई जीवन निर्वाहको लागि प्रयोग गर्नुहोला।’
प्रकाशित मिति: शुक्रबार, साउन १, २०७८ १८:१२