-श्याम स्मृत
नेपालको राजनीतिमा निक्कै नै तरलता आएको छ। उक्त तरलतामाझ जनताको जनादेशवाट नभइकन सर्वोच्च अदालतको परमादेशवाट नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा नेपालको प्रधानमन्त्री बनेका छन्।
दुई तिहाई वहुमतको केपी शर्मा ओली नेतृत्वको सरकारले ३ बर्ष ६ महिनासम्म सरकार चलाउन पाएतापनि आफ्नै पार्टीका माधव नेपाल गुटका कारण विदाई हुनुपर्याे। जुन नेपाली राजनीतिमा गुट राजनीतिले बहुमतको आफ्नै पार्टीको सरकारलाई पनि गिराउन सक्ने नजिर कायम हुन गएको छ। जुन दुःखद पक्ष हो।
आफ्नै पार्टीको सरकारलाई गिराउने माधव नेपाल गुटले पार्टीमा उपस्थिति कसरी जनाउने र आफ्नो साख जोगाउन अवका दिनमा निश्चित रुपमा कठिन हुने देखिएको छ। अर्कोतर्फ ६ महिनाभन्दा लामो खिचातानी र संघर्षपछि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएको छ ।
ओलीको बहिर्गमन र देउवाको सत्तारोहणसँगै गठबन्धन सरकारको आयुमाथि पनि बहस हुनु स्वभाविक हो। स्पष्ट बहुमत नभएको देउवा सरकारले अवको एक महिनाभित्र संसदवाट विश्वासको मत पाउनु चुनौति नै हो। नेकपा एमालेमा नै बसेर माधव नेपाल गुटले देउवालाई विश्वासको मत दिएमा देउवा सरकार टिक्ने संभावना देखिएतापनि देउवाका लागि सरकार चलाउन फलामको चिउरा चपाउनु सरह नै हुने निश्चित छ। देउवा जनमतवाट वनेको सरकार नभएको कारण माओवादी केन्द्र लगायतका पार्टीका टेकोको आडमा अगाडि बढ्नु भनेको कठिन कार्य हो।
नेपालका राजनीतिमा पटक पटक गरेर पाँचौ पटक प्रधानमन्त्री बनेका देउवा प्रतिनिसभा पुनस्र्थापना बाहेक अन्य काम गर्ने योजनाका साथ बनेको गठबन्धन नभएकाले यसको आयु पनि छोटै हुनसक्ने राजनीतिक विश्लेषकहरुको भनाइ वाहिर आएको छ। राजनीतिक पृष्ठभूमि र विचारको तौरतौरिकाका साथै स्वार्थ समेत समान नभएकाले देउवा सरकारको गठबन्धन दीगो नहुने धेरैको भनाई आइरहेको छ।
यसले गर्दा पनि देउवा सरकारका लागि चुनौति चाङ्ग छन्। नयाँ चुनौतीको सामना, कोरोना कहरको रोकथाम र पुराना गल्ति सुधार गर्ने बाटोमा देउवाले कदम चाल्नु पर्ने विश्लेषकहरूको उचित तर्क छ । देउवा सरकारवाट नेपाली जनताले खासै कुनै अपेक्षा पनि गरेको पाइएको छैन्।
यसअघि चार पटक प्रधानमन्त्री बन्दा पनि देउवाले खासै नोटिस हुनेखाले कार्य नगरेको कारण नेपाली जनताले कुनै अपेक्षा नगरेका हुन्। केही दिनमा त्यस्तो कुनै चमत्कार गरेमा र भएमा भने देउवा सरकारको महत्व बढ्ने नै छन्।
-नामी साप्ताहिकबाट
प्रकाशित मिति: शुक्रबार, साउन १, २०७८ २०:५४