काभ्रेपलाञ्चोक । काभ्रेको खानीखोला गाउँपालिकाको ३ सय २३ परिवारलाई घर-घरमै खानेपानी उपलब्ध गराइएको छ।
गाउँपालिकाको ‘एक-घर-एक धारा’ अभियान कार्यक्रमअन्तर्गत दुई खानेपानीका योजना सम्पन्न भएपछि दुई सातामा वडा नं ३, ४ र ५ को परिवारका घरमै खानेपानी उपलब्ध गराएको हो ।
योजना सम्पन्न भएपछि यही भदौमा दुई चरणमा गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङद्वारा शुभारम्भ गरिएको थियाे । गाउँपालिकाको वडा नं ३ र ४ मा १ सय ७८ धारा निर्माण सम्पन्न भएको छ भने वडा नं ५ मा एक सय ४५ घरमा धारा जडान गरी खानेपानी उपलब्ध गराइएको अध्यक्ष थिङले जानकारी दिए ।
उनका अनुसार दुवै खानेपानी आयोजना नेपाल स्वास्थ्यका लागि पानी (नेवा) को संयोजन, च्यारिटी वाटरको सहयोग र गाउँपालिकाको साझेदारीमा निर्माण सम्पन्न भएको हो । गाउँपालिकाले ‘दिगो र गुणस्तरयुक्त संरचना हाम्रो पहिचान, सुरक्षित पानी सफा र स्वच्छ गाउँ हाम्रो अभियान’ नाराका साथ खानेपानी आयोजना सञ्चालन गरिरहेको छ ।
अध्यक्ष थिङले खानीखोलाका २ हजार ४ सय परिवारमा स्वच्छ र सफा खानेपानीको व्यवस्था गर्ने क्रममा हालसम्म ७ सय घरधुरीमा योजनामार्फत पु¥याइएको बताए । “बाँकी परिवारमा क्रमशः योजनामार्फत नै खानेपानी व्यवस्था गर्ने लक्ष्य लिएका छौँ”, थिङले भने।
वडा नं ३ को आहाले जुरे, भाङ्टार, सौरे र चित्रे बस्ती र ४ डाँडागाउँ, बाँसघारी, सिरुटारमा नेवाको १ करोड २५ लाख ८ हजार, गाउँपालिकाको तर्फबाट ४९ लाख ८ हजार ९ सय, जनश्रमदानबाट २४ लाख ७६ हजार ५ सय ५० गरी कूल १ करोड ७६ लाख ८३ हजार ५ सयको लागतमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको थियो । उक्त खानेपानी आयोजना विसं विसं २०७९ मा सुरु गरिएको थियो ।
यस्तै खानिखोला-५ गैरीखोला तालढुङ्गामा ‘एक घर-एक धारा’ कार्यक्रमअन्तर्गत नै १ सय ४५ घरमा धारा जडानका लागि गाउँपालिका, नेपाल स्वास्थ्यका लागि पानी (नेवाः) सिन्धुली तथा स्थानीय जनश्रमदान गरी १ करोड ६ लाख निर्माण सम्पन्न भएको हो ।
उक्त खानेपानी आयोजनाको विसं २०८० साउन १ गते सम्झौता गरिएको र समयमै निर्माण सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष थिङले जानकारी दिए।
प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१ ०८:११