काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव जारी रहेको छ ।
मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाद्वारा आज बिहान जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।
हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, बाग्मती र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशको केही भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाएको छ ।
यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
कोशी, मधेस, बागमती, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोशी र कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१ ०८:०२