-प्रज्वल घिमिरे
(कवि तथा साहित्यकार)
नयाँ आँखाहरु तिखा हुन्छन्
लुकेका कुरा देख्छछन्
झुकेका शिर देख्छन्
फुकेका, सुकेका, ढुकेका अनि
चुकेका जीवनहरु सबै देख्छन्
तिनलाई समेटेर कविता लेख्छन्
नयाँ आँखालाई चश्मा चाहिँदैन
संसार हेर्न
प्रेमिका फेर्न
शत्रुको घर घेर्न
उसले जितेको हुन्छ वलले
उ झन हौशिन्छ प्राप्त हुने फलले
तर पुराना आँखाहरु थाकेका हुन्छन्
जीवनको गोरेटोमा हिँडेर दौडेर
सारथीको साथ नपाउञ्जेल
अर्थात चश्मा
जसमा पुराना आँखाको संसार हुन्छ
र त उ पृथ्वीसँग भुल्छ
बच्चा झैँ खुशी हुँदै झुल्छ
बोल्दै हास्दै सबैसँग खुल्छ
मैले कविता बेचेर आएको
पारिश्रमिकले किनेको चश्मा जस्तै
चश्मामा अक्षरलाई हिँडाएर
पंक्तिलाई थचक्क बसाएर
विम्वसँग दौडिँदै
समुन्द्रको मोती टिप्न पौडिँदै
नतमस्तक भएको मेरो चश्मा
पनि आजकल
नयाँ र तिखा आँखाहरु झै
लुकेका कुरा झुकेका शिर,
फुकेका, सुकेका, ढुकेका अनि
चुकेका जीवनहरु पनि देख्छ
तिनलाई समेटेर कविता लेख्छ
किनकि मैले कविता बेचेर किनेको चश्मा
मेरा लागि सबैभन्दा बहुमूल्य सम्पत्ति हो
मेरो कविता जस्तै ।
प्रकाशित मिति: आइतबार, साउन ३, २०७८ १६:५७