काठमाडौँ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन अग्रपूजाको अधिकार प्राप्त गरेका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधनागरी मनाइने गणेश चतुर्थी पर्व मनाइँदै छ ।
प्रत्येक वर्ष हरितालिका (तीज) पर्वको भोलिपल्ट गणेश चतुर्थी मनाइन्छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको उत्पत्ति भएको शास्त्रीय मान्यता छ ।
यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजागरी गणेशको प्राकट्य उत्सव मनाउने गरिन्छ ।
शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ। हरितालिका (तीज) को व्रत भोलिपल्ट गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको छ ।
भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका वर्तालुले चतुर्थीका दिन जीवनमा विघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ ।
बिहान हरितालिका (तीज) को व्रत समापनका लागि पारायणगरी मध्याह्नकालमा गणेशको पूजा आराधना गरी अघ्र्य दिनुपर्ने विधि रहेको छ। यस अवसरमा केही मानिसले भने गणेश चतुर्थीको व्रतसमेत गर्छन् ।
मङ्गल चतुर्थीसमेत नामले यो पर्वलाई चिनिन्छ । यो पर्वलाई नेवार समुदायले भने चथा नाममा मनाउँछन्। यस दिन बालबालिकालाई ‘छुस्यामुस्या’ बाँड्ने चलन पनि नेवार समुदायमा रहेको छ ।
विसं २०६५ देखि यस पर्वका अवसरमा चतुर्थीको भोलिपल्ट राजधानीलगायत मुख्य सहरमा गणेश रथयात्रा पनि गरिन्छ। विसं २०६४ मा यसैदिन राष्ट्रिय धर्मसभाको स्थापना भएको थियो । यसैले यसदिन धर्मसभाको स्थापना दिवसका रुपमा पनि मनाउने गरिन्छ।
प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१ १०:३३