मुस्ताङ । तापक्रम वृद्धि र मौसम परिवर्तनका कारण मुस्ताङको प्रमुख कृषि बाली स्याउ पाक्ने समय अघि सरेको छ।
यसपाली हिउँदमा लामो समयसम्म चिसो नरहेको र तापक्रम छिटो बढेकाले स्याउ छिटो पाकेको कृषि प्राविधिक र कृषकहरुले बताएका छन्। केही वर्ष पहिले असोज लागेपछि स्याउमा गुलीयो पस्ने गर्दथ्यो ।
विगतका वर्ष भन्दा धेरै गर्मी महशुस भएको महशुुस गरेका घरपझोङ गाउँपालिका-२ मार्फाका ७९ वर्षीय कृषक लालप्रसाद हिराचनले स्याउ १५–२० दिन अघिनै पाक्न थालेको बताए ।
उपकरणको सहायताले स्याउको गुलियोपना नापिन्छ । गुलियोपनाको मात्रा १२ प्रतिशत भएपछि स्याउ टिप्न योग्य हुुन्छ। दानाभित्रको गेडा कालो भयो भने पनि स्याउ पाकेको मानिन्छ । उच्च घनत्वको गाला प्रजातिका स्याउ भदौ १० गते र रिङरोट जातको स्याउ भदौ १५ गतेदेखिनै टिप्न थालिएको छ।
स्थानीय रोयल, रेड, गोल्डेन डेलिसियस र फुजी जातको स्याउ असोज १ गतेदेखि टिप्ने समय तालिका बनाइएको छ। तिजलाई लक्षित गरेर उच्च घनत्वको जातका स्याउ टिपेर बजार पुुगिसकेको छ ।
ब्यापारीहरुले नपाकेको र ढिलो पाक्ने प्रजातिका स्याउ पनि टिपेर बजार लैजान सक्ने भएकाले नाकामा अनुुगमन गर्नुुपर्ने बताइएको छ। अनुकुल मौसम, बगैचा व्यवस्थापन, रोग, किराको समस्या कम देखिएकाले गत वर्षको तुलनामा २५ देखि ३० प्रतिशतले स्याउ उत्पादन बढ्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ ।
मुस्ताङको १ हजार ४७५ हेक्टर क्षेत्रफलमा स्याउ खेती भएकोमा ५ सय ८० हेक्टर क्षेत्रफलमा लगाइएको स्याउ बोटले उत्पादन दिने गरेको छ। ३८ हेक्टर क्षेत्रफल जमिनमा इटलीबाट ल्याइएको उच्च घनत्वको स्याउ खेती भएको छ।
गत वर्ष ४ हजार ९ सय ७५ मेट्रिक्टन स्याउ उत्पादन भएको र ४९ करोड २५ लाख बराबरको स्याउ बिक्री भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ।
प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१ १६:५०