भरतपुर, चितवन । चेपाङ समुदायको महान् चाड छोनाम ‘न्वागी’ धुमधामसहित मनाएको छ ।
चितवनमा चेपाङहरुको बाक्लो बसोबास रहेको कालिका, राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकाका बस्तीहरुमा आज यो पर्व मनाएको हो।
चेपाङ समुदायको महत्वपूर्ण पर्व भएकाले चेपाङ बालबालिकालाई आवासीय शिक्षा दिईरहेको गामबेसी चेपाङ संरक्षण केन्द्र रत्ननगरले पनि छोनाम ‘न्वागी’ मनाएको छ ।
गाउँबाट आएका चेपाङका गुरु पान्देहरुले अन्नपातमा पूजापाठ गरेपछि खाना खुवाईएको थियो। चेपाङका गुरु पान्दे अमृतलाल चेपाङले आज सबै चेपाङ बस्तीहरुमा धुमधामकासाथ मनाउने गरिएको बताए । उनले यो पर्व लोप हुने जोखिम रहेकाले संरक्षणमा ध्यान दिनुपर्ने बताए।
चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपी किरण शर्माले चेपाङ समुदायका युवा पुस्ताहरुमा आफ्नो चाडपर्व, संस्कृति बिर्सदै गएकाले केन्द्रमा आश्रित बालबालिकाहरुलाई पर्वको जर्गेना गर्न धुमधामका साथ पान्दे बोलाएर पर्व मनाइएको बताए।
उनले विगतदेखि नै यसरी केन्द्रमा न्वागी मनाउने गरिएको बताए । केन्द्रमा हाल १ सय ५० जना चेपाङ बालबालिकाहरु आवासीय रुपमा अध्ययन गरिरहेका छन् ।
साउन महिनामा बाहिरिएको भगवान भदौं महिनामा आउने र नयाँ अन्नबालीसँग पूजापाठ गरी मात्र भोजन गर्ने परम्परा रहेको छ। न्वागीको दिन घैया धानको चामल, पिँडालु, निबुवा आदि फलफूलले भूमिलाई पूजा गरी पितृलाई खुवाउने गरिन्छ।
चेपाङ समुदायमा नयाँ अन्न र फलफूल पितृलाई नचढाइ खाएमा देउता रिसाउँछन् भन्ने धार्मिक मान्यता छ । यसका लागि चेपाङ झाँक्रीहरुले एकपाखे ढ्याङ्ग्रो ठोक्दै कुखुराको बली चढाउने गर्दछन् ।
प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१ २२:२६