इलाम । इलाममा एकापट्टि मात्र छापिएको पाँच सयको नोट फेला परेको छ ।
केही दिन अघि इलाम बजारका युवा सुमन श्रेष्ठले यो नोट फेला पारेको हो ।
पाँच सयको एक थान नोट एकापट्टि मात्र छापिएको भेटिएको छ । श्रेष्ठले ङ ९३ ४८७४१८ नम्बरको एकापट्टि छापिएर अर्कापट्टि नछापिएको नोट फेला पारेका हुन् ।
एकै दिन केही बैंकका एटिएमबाट पैसा निकालेको, सोही दिन इलाम बजारकै एक घरमा भएको मृत्युपछिको काजक्रियामा समेत आफूले पैसा साटेको श्रेष्ठले बताए ।
उक्त नोट कहाँबाट आयो भन्ने आफूलाई समेत एकिन नभएको उनले बताए । इलाम बजारकै केही बैंकमा पैसा परिक्षण गर्दा सो नोट सक्कली भएको बताइएको छ । तर आधिकारिक रुपमा बैंकले भन्न नमिल्ने बैंकका कर्मचारीहरुको भनाई छ । सो नोटमा गभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेको नोट २०७३ सालमा निष्कासित भएको मिति उल्लेख छ।
यस बिषयमा नेपाल राष्ट्र बैंकका सहायक सूचना अधिकारी डा. भागवत आचार्यले यस विषयमा मुद्रा ब्यवस्थापन विभागले हेर्ने बताए। छाप्ने क्रममा त्रुटी भएको भन्दै उनले यस विषयमा अनुसन्धान समेत मुद्रा ब्यवस्थापन विभागले नै गर्ने बताए ।
उता मुद्रा ब्यवस्थापन विभागका निर्देशक वासुदेव भट्टराईले नोट नहेरी भन्न नसक्ने बताए। ठूलो भोल्युममा नोट छाप्ने क्रममा एउटा नोट चिप्लिएको हुन सक्ने उनको भनाई छ । तर यस्तो एकापट्टि मात्र छापिएको नोट फेला पारिएको भने यो आफूकहाँ पहिलो पटक जानकारी प्राप्त भएको उनले बताए।
छपाईमा त्रुटि भएको हुन सक्ने भन्दै उनले यो नोटको सट्टामा अर्को नोट दिन सकिने प्रावधान रहेको बताए। उनका अनुसार नेपालमा हाल ६ सय ६७ अर्ब पैसा चल्तीमा रहेको छ । जसमा ५ सय र हजारका २५ प्रतिशत र १ सय मुनीका ७५ प्रतिशत पैसा रहेको बताइएको छ।
प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१ २१:४६