मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका-३ मा पर्ने स्याङ गाउँ पर्यटकको पर्खाइमा छ ।
जोमसोम बजारको नजिकैको स्याङ संस्कृति र प्रकृतिको संगम हो । नजिकैको बेनी-जोमसोम-कोरला सडक भएर बर्षेनी लाखौ पर्यटक मुस्ताङ ओहोर दोहोर गर्छन्।
जोमसोम र राष्ट्रिय सडक छेवैको स्याङ गाउँमा पर्यटकको चहलपहल बढ्न नसकेकोमा स्थानीयबासी चिन्तित बनेका घरपझोङ गाउँपालिका-३ का वडा सदस्य विरप्रसाद थकालीले बताए ।
आठ वटा घरमा घरबास सञ्चालन भएको स्याङमा सडक र पैदलमार्ग प्रयोग गरेर पुग्न सकिन्छ । एक सय १२ घर रहेको स्याङ गाउँको बीच भागमा गुम्बा छ ।
गाउँको डिलमा रहेको उद्यानमा रातो (रेड डेलिसियस) र पहेलो (गोल्डेन डेलिसियस) जातको स्याउको प्रतिमा बनाइएको छ। सँगै वौद्ध धर्मगुरु रिम्पोचेको शालिक र जंगली जनावर नाउरको पनि प्रतिमा छ ।
शालिक र प्रतिमाको पृष्ठभूमिमा निलगिरि हिमाल, जोमसोम, ठिनी, धुम्बा, मार्फा बजार र स्याउ बारी देखिन्छ। उद्यानलाई स्थानीयबासीले मानशान्ति पार्कको नाम दिएका छन् ।
सुन्दर, शान्त र रमणीय, सदरमुकामको नजिक भएपनि प्रचारप्रसारको कमीले स्याङ ओझेलमा परेको ठहर गरेका स्थानीयबासी पूर्वाधार निर्माणसँगै प्रचारप्रसारमा जुटेका छन् ।
"घरपझोङ गाउँपालिकाले स्याङ र जोमसोम बजार जोड्ने पदमार्गको परिकल्पना गरेर किचिथाङमा १२० मिटर लामो झोलुङ्गे पुल बनाएको छ। स्याङ खोलाको किनारमा रहेको कैह्योलोङ गुफा पनि अर्को आकर्षण हो ।" घरपझोङ गाउँपालिका-३ मुस्ताङका स्थानीयवासी देवेन्द्र थकालीले बताए।
प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१ २२:१४