काठमाडौ। नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरुलाई स्पष्टीकरण सोध्ने भएको छ।
ललितपुरको च्यासलमा बसेको केन्द्रीय कमिटीको बैठकले उनीहरुलाई पार्टी अनुशासन उल्लङ्घन गरेको भन्दै २४ घण्टाभित्रै स्पष्टीकरण सोधिने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएको हो।
हिजो प्रतिनिधिसभामा प्रधानमन्त्री देउवालाई माधवकुमार नेपालसहित २२ जना सांसदले विश्वासको मत दिएका थिए। तामाङले उनीहरुलाई विश्वासको मत दिएका कारण नभई पार्टी अनुशासन उल्लङ्घन गरेकोमा स्ष्टीकरण सोध्न लागिएको बताएका छन्।
यस्तै नेकपा एमालेको केन्द्रीय कमिटी बैठकबाट १० बुँदे सहमति अनुमोदन पनि भएको छ । कार्यदलले जुटाएको १० बुँदे सहमति अनुमोदन गर्दै बैठक भोलि दिउसो ३ बजेसम्मका लागि स्थगित भएको छ।
बैठकमा नेपाल समूहका नेताहरु भने उपस्थित भएका थिएनन् । आज छोटो समय बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेको थियो।
सम्बोधनका क्रममा ओलीले पार्टीका २२ सांसदले प्रधानमन्त्री देउवालाई मत दिनु पार्टीका लागि शर्मनाक भएको बताएका थिए। ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल कम्युनिष्ट आन्दोलनको गद्दार भएको बताउदै पार्टीमा स्वागत नहुने बताएका थिए।
ओलीले उपाध्यक्ष भीम रावललाई राजीनामा फिर्ता लिन आग्रह पनि गरेका छन्। बैठकमा अध्यक्ष ओलीले रावलले हतारमा राजीनामा दिएको बताउदै पार्टी एकता जोगाउन आग्रह गर्दा माधव नेपालले हप्काएर पठाएपछि रावलले राजीनामा दिएको बताए। ओलीले १० बुँदे सहमति माधव नेपालले स्वीकार नगरेको आरोप लगाएका छन्।
प्रकाशित मिति: सोमबार, साउन ४, २०७८ १५:२७