म्याग्दी । म्याग्दी र मुस्ताङका पशुगोठ बेशीतर्फ झर्न थालेका छन् ।
चरनका लागि हिमालका फेदीमा पशुगोठहरु चिसो बढ्न थालेसँगै बेशीतर्फ झर्न थालेको हो ।
चैतको अन्तिम सातातिर लेकतिर उकालो लागेका भेडाबाख्रा, गाईभैसी, घोडा र चौरी गाईका घुम्ति गोठहरु बेशीतर्फ झर्न थालेका हुन्।
अधौली लागेपछि पशुहरु आफै तल तल झर्छन । पशुलाई चरन खर्कमा घाँस खुवाउदै खुवाउदै गोठ झार्न थालेको हो । बैशाख र जेठ बाटोमा बिताएका पशुहरु असार, साउन र भदौमा जडिवुटीयुक्त बुकी पाटनमा चरेर फर्कन थालेको कृषक, अन्नपूर्ण गाउँपालिका-१ दोवाका नेत्रप्रसाद राम्जालीले बताए।
टुुकुचेको बतासेमा म्याग्दी र मुस्ताङका १६ वटा गोठ गएका थिए । केही वर्ष पहिले ४० वटा सम्म भेडागोठ हुने बतासे बुुकीमा पछिल्लो समय किसानहरु विदेश पलायन हुने क्रम बढेपछि गोठ घटेका ५४ वर्षदेखि भेडा पाल्दै आएका म्याग्दीको रघुगंगा गाउँपालिका-२ भगवतीका नन्दबहादुर भण्डारीले बताए।
पशुका लागि पोषिलो घाँस पाइने हिमाली चरन क्षेत्रलाई बुकी र गाईबस्तुको गोठ राख्ने ठाउँलाई खर्क भनिन्छ। तीन महिना बुकीमा चराएपछि ओरालो लाग्ने गोठहरु दशैको असपासका गाउँबस्ती नजिकै लैजाने गर्छन् । हिउँदमा बेशीका फाँटमा ल्याइने गोठहरु बर्खामा हिमालको फेदीका बुकीमा पुग्ने गर्दछन् ।
गाईभैसी, गोरु र भेडाबाख्राको बथानलाई अघि लगाउदै गोठालाहरु बन्दोबस्तीका सामान बोकेर गोठालाहरु ओरालो लागेका छन्। वस्तुभाउलाई घाँस खुवाउनकै लागि उनीहरू लेकमा गोठ लैजाने गर्छन् । लेकका बुकीका चरन क्षेत्रलाई गाउँ अनुसार विभाजन गरिएको छ।
प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१ २१:२५