धन्न आँशुको रङ्ग हुन्न !
यदी आँशुको रङ्ग रातो हुन्थ्यो त
रगताम्मे हुन्थ्यो आँखा
रगताम्मे हुन्थ्यो परेली, गाला अनि शरीर
सबै भन्दा बढी रगताम्मे हुन्थ्यो सिरानी
नबोलेरै बताउथ्यो होला दुखको कहानी !!
थोपा थोपा आँशुले रातै हुन्थ्यो घर
रातै हुन्थ्यो आगन र रातै हुन्थ्यो सन्सार
अनि कसले भन्थ्यो रातो राम्रो
सबलाई लाग्थ्यो रातो बेकार
धन्न आँशुको रङ्ग हुन्न
र त यो टिल्पिलाउछ आँखामा
परेलीको बाटो हुदै समाहित हुन्छ गालामा
चिउडोसम्म पुगे पनि बिलाईदिन्छ छातीमा !
धन्न आँशुको रङ्ग हुन्न
र त भन्न मिल्छ यो पानी हो
र त भन्न मिल्छ यो पसिना हो
लुकाउदा लुकाउदै छचल्किने आँशु
आँखामै तलाउ बनाउन मिल्छ
एक्लो हुदा झुक्काएर बगाउन मिल्छ !!!
अब हजुर सोच्नु त
आँशुको रङ्ग कालो भएको भए
कस्तो हुन्थ्यो होला ?
धन्न आँशुको रङ्ग हुन्न।।।!
तर यो रङ्ग बिहिन आशुले
ल्याउने तरङ्ग ! अनुमान कसले गर्न सक्छ ?
रुनेलाई मात्र आँशुको मुल्य थाहा हुन सक्छ !
प्रकाशित मिति: शनिबार, असोज ५, २०८१ १८:४०