काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४४ दशमलव ४५ अङ्कले बढ्दा कारोबार रकम भने पौने चार अर्बमा खुम्चिएको छ।
नेप्से परिसूचक आज एक दशमलव ८० प्रतिशतले बढेर दुई हजार पाँच सय ८ दशमलव ८६ को अङ्कमा कायम भएको हो।
आज तीन सय १९ कम्पनीको ९७ लाख १७ हजार ९ सय ५९ कित्ता शेयर ५० हजार ६ सय ८० पटक खरिद बिक्री हुँदा कारोबार रकम ३ अर्ब ७१ करोड ५३ लाख ५९ हजार ९ सय ३५ मा खुम्चिएको छ । नेप्सेमा आजको कारोबार रकम पछिल्लो तीन महिनायताकै न्यून हो।
म्युचुअल फन्ड शून्य दशमलव ६० प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै वित्त समूह ४ दशमलव १९ र उत्पादन तथा प्रशोधन समूह ३ दशमलव ८३ प्रतिशतले बढेको छ ।
बैंकिङ १ दशमलव १८, विकास बैंक १ दशमलव ९३, होटल तथा पर्यटन ३ दशमलव २८, जलविद्युत् १ दशमलव २२, जीवन बीमा १ दशमलव ७८ र लघुवित्त एक दशमलव ८५ प्रतिशतले बढेको छ ।
त्यस्तै, निर्जीवन बीमा ० दशमलव ७१, व्यापार १ दशमलव ५२ र अन्य समूह २ दशमलव ३७ प्रतिशतले बढेको छ। सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्म सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा प्रभु सेलेक्ट फन्डको शेयर मूल्य ९ दशमलव ३६ प्रतिशत छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको १७ करोड ६९ लाख ६४ हजार २७ बराबरको कारोबार भएको छ ।
कारोबार भएको शेयर सङ्ख्याका आधारमा भने सिटिजन सुपर-३० म्युचुअल फन्डको १२ लाख १ हजार ४ सय २० कित्ता शेयर किनबेच भएको छ।
प्रकाशित मिति: सोमबार, असोज १४, २०८१ २१:५०