काठमाडौ। जापानमा हुने भनिएको ३२ औं गृष्मकालीन ओलम्पिकको खेलहरु आजदेखि शुरु भएको छ।
टोकियोमा पर्सि शुक्रबार उद्घाटन हुने ओलम्पिकको केही खेल भने २ दिनअघि नै शुरु भएको हो।
जसअनुसार आज सफ्टबलको प्रतिस्पर्धा शुरु भएको छ । आज बिहान जापान र अष्ट्रेलियाबीचको सफ्टबल खेल भएपछि टोकियो ओलम्पिकको खेल शुरु भएको हो ।
जापानका पिचर युकिको यएनोले सफ्टबलको पहिलो बल हानेकी थिइन् । आजै सफ्टबलका अरु दुई खेल पनि हुँदैछ।
सन् २००८ पछि हटाइएको सफ्टबल टोकियोमा पुनः समावेश गरिएको हो । फुकुसिमा अजुमा बेसबल स्टेडियममा भएको पहिलो खेलमा जापानले अष्ट्रेलियालाई ८–१ ले पराजित गरेको छ ।
आजै महिला फुटबलअन्तर्गत समूह चरणका ६ खेल हुँदैछन् । पाँच वर्षपछि हुन लागेको ओलम्पिकमा विश्वभरका करिब ११ हजार खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।
टोकियोमा अहिले कोरोना भाइरसले गर्दा आपतकाल घोषणा गरिए पनि ओलम्पिकका खेलहरु विना दर्शक कोभिड–१९ को प्रोटोकल पालना गरेर खेलाइँदैछ ।
प्रकाशित मिति: बुधबार, साउन ६, २०७८ १५:५७