काठमाडौँ । नेपाल साफ माहिला च्याम्पियनसिप-२०२४ को फाइनलमा प्रवेश गरेको छ ।
केहीबेर अघि सम्पन्न खेलमा नेपालले भारतलाई टाइब्रेकरमा ४-२ गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो।
निर्धारित समयमा दुवै टोलीले एक एक गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दुवै टोलीले पहिलो हाफमा गोलरहित बराबरी खेलेका थिए । निर्धारित ४५ मिनेट तथा अतिरिक्त तीन मिनेटको समयमा पनि नेपाल र भारतले गोल गर्न सकेनन् ।
पहिलो हाफमा भारतले नेपालमाथि दबाब बनाइराख्दा नेपाल गोल गर्नबाट चुक्यो । नेपाल र भारत दुवैले केही उत्कृष्ट अवसर प्राप्त गरेपनि गोल गर्न भने सकेनन् ।
मध्यान्तरपछिको खेलमा नेपालकी रेखा पौडेलले रातो कार्ड पाएपछि मैदान छोड्नु परेको छ । खेलको ५१औँ मिनेटमा दोहोरो पहेँलो कार्ड पाएपछि उनले मैदान छोड्नु परेको हो ।
नेपाल अहिले १० खेलाडीमा सीमित बन्यो । रेखाले रातो कार्ड पाएपछि नेपाली दर्शकहरुले केहीबेर नाराबाजी गरेका थिए। दोस्रो हाफमा भारतकी सङ्गीता बास्फोरले उत्कृष्ट गोल गर्दै अग्रता लिइन् । भारतले गोलको खुसी मनाइरहेको अवस्थामा नेपालले लगत्तै गोल गरेको थियो।
तर रेफ्रीले उक्त गोललाई मान्यता दिएनन् । तनावका कारण खेल लामो समयसम्म खेल रोकिएको थियो। खेल पुनः सुरु भए लगत्तै नेपालकी सावित्रा भण्डारी ‘साम्बा’ले गोल गर्दै खेललाई एक एक गोलको बराबरीमा पुर्याइन् ।
त्यसपछि गोल हुन नसक्दा खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा नेपालले चार तथा भारतले दुईवटा मात्र गोल गर्न सक्यो।
दशरथ रङ्गशालामा नै आज दिउँसो भएको पहिलो सेमिफाइनल खेलमा बङ्गलादेशले भुटानलाई ७-१ गोलअन्तरले पराजित गर्दै फाइनलका लागि स्थान बनाएको हो ।
नेपालले अब फाइनल खेल बङ्गलादेशसँग खेल्ने छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१ ०७:५८