काठमाडौं। र्याप विश्वव्यापी रुपमा संगीतको स्थापित विधा हो। पप-कल्चरसँग जोडिएको र्याप संगीत पश्चिमी देशमा अधिक प्रचलित छ।
नेपालसहितका पूर्वीय दर्शनसँग जोडिएका देशमा पनि पछिल्ला वर्षहरुमा र्याप संगीतको लोकप्रिय ‘जनरा’ का रुपमा स्थापित हुँदै गएको छ। विशेष युवा पुस्तामा र्याप लोकप्रिय छ। र्याप संगीतको इतिहास ‘स्टोरीटेलिङ्ग’ (कथा भन्ने शैली)सँग जोडिएको छ। र्याप गीत हो, यसको लय पनि हुन्छ। तर परम्परागत रुपमा बुझ्ने गरिएको जस्तो स्थापित लय हुँदैन।
यसमा र्यापर (अर्थात कथा वाचक)ले एक विषयवस्तुका बारेमा एक लयमा अनुप्रास युक्त तर बोलीचालीको भाषा गाउँछन्। र्यापको उत्पति पश्चिम अफ्रिकाबाट भएको मानिन्छ । पश्चिम अफ्रिकाका इतिहासकारका रुपमा लिइने ग्रिओट्सले आफ्नो गाउँबस्तीको कथा लयबद्ध रुपमा भन्ने गरेको इतिहास छ।
त्यो नै र्याप संगीतको आधार मानिन्छ। सन् १९६० को दशकमा अमेरिकामा र्याप संगीत, विशेष गरी कालो जातिका समुदायमा लोकप्रिय बन्दै गयो। ६० र ७० को दशकमा कालो जातिका किशोर किशोरीले अमेरिकामा सडकहरुमा र्याप प्रस्तुत गर्न थालेको इतिहास छ।
त्यसपछि बिस्तारै अरु समुदाय र वर्गमा समेत लोकप्रिय हुँदै गएको र्याप हाल विश्व संगीतको महत्वपूर्ण विधा मात्र नभइकन यिनै लोकप्रिय र्याप संगीत नेपाली युवाहरुमाझ पनि अत्यन्त लोकप्रिय बनेको छ।
यसक्रममा नेपाली र्याप संगीतमा आमाको महत्वको बारेमा विलकुलै नयाँ र्याप संगीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। आमा नामक उक्त नेपाली र्याप संगीत जी बबको लेखन तथा अभिनय प्रस्तुतिमा विश्व संगीत बजारमा सार्वजनिक भएको छ।
अत्यन्त मार्मिक ढंगवाट प्रस्तुत भएको उक्त नेपाली र्याप संगीतको आमा नामक म्युजिक भिडियोको निर्माण लामो समयदेखि अमेरिकामा बस्दैआएका म्यासेञ्जर ब्याण्डका ख्यातिप्राप्त गायक राजेश हमालको रिभेल इभेन्टस् इन्क र पेमा छेवाङ शेर्पाले गरेका हुन्।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १६, २०८१ १८:५९