काठमाडौँ । दीपावलीको सार्वजनिक बिदापछि आज खुलेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले घटेको छ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ० दशमलव २१ अङ्कले ओरालो लागेर २ हजार ६ सय ७७ दशमलव ४० मा सीमित भएको छ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ० दशमलव ८२ अङ्कले ओरालो लागेर ४ सय ७७ दशमलव ९९ मा सीमित भएको छ।
कारोबार भएका १३ उपसमूहमध्ये सात उपसमूहको शेयर मूल्य उकालो लाग्दा छ उपसमूहको भने ओरालो लागेको छ। कूल ९७ लाख १३ हजार ७ सय ३० कित्ता शेयर ४ अर्ब २० करोड ५५ लाख ५ हजार २ सय ३७ मा कारोबार भएको छ ।
नेप्सेका अनुसार, सुपर माई हाइड्रोपावरको शेयरमूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। समाज लघुवित्त ९ दशमलव ९५, युनाइटेड मोदी हाइड्रोपावर ९ दशमलव ५१, गुराँस लघुवित्त ९ दशमलव ३२ र रसुवागढी हाइड्रोपावरका लगानीकर्ताले ८ दशमलव ७५ प्रतिशतले कमाएका छन् ।
त्यसैगरी, मिड सोलु हाइड्रोपावर १०, अप्पर स्याङ्गे हाइड्रोपावर ८ दशमलव ९४, सामलिङ पावर कम्पनी ६ दशमलव ४९, एक्सेल डेभलपमेन्ट बैङ्क ५ दशमलव ९७ र एनआइसी एसिया फ्लेक्सी फन्डका लगानीकर्ताले ५ दशमलव ९१ प्रतिशतले गुमाएका छन्।
प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१ १८:३५