ढोरपाटन, बागलुङ । बुर्तिबाङ बजारदेखि अर्नाकोट जाने सडक छेउमा फलामे जालीले ठूलो क्षेत्र घेरिएको छ।
चारैतिर जालीले घेरिएको बारीमा सयौँको संख्यामा कालिज (वन कुखुरा) देखिन्छन् । सडकमा यात्रा गर्ने जोकोही एकै छिन रोकिएर कालिज नियाल्छन्। साना ठूला रहर लाग्दा कालिजले धेरैलाई आकर्षित छन् ।
वन जंगलमा जाँदा भेटिने कालिज घरमै देख्दा अचम्म लाग्नु स्वभाविक नै हो । ढोरपाटन नगरपालिका-२ सलामकोटका चुडामणी कँडेलले ६ वर्षदेखि यहाँ कालिज पाल्न थालेको हो। पेसाले स्वास्थ्यकर्मी कँडेलले दिउँसोको समय बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा काम गरे पनि विहान बेलुका कालिजको स्याहार सुसार गर्दै आएको छ ।
विगत ११ वर्ष अगाडि सरकारी सेवामा प्रवेश गरेका चुडामणिले वि.सं. २०७५ सालदेखि कालिज पालन गर्न थालेको हो। सुरुमा काभ्रेबाट तीन पोथी र एउटा भाले कालिज लिएर सुरु गरेको व्यवसाय अहिले फस्टाउँदै गएको छ ।
चौबिस हजारमा चार कालिज लिएर थालेको व्यवसायमा कँडेलले हालसम्म २५ लाखभन्दा बढी लगानी गरि सकेको छ। सानैदेखि चरा चुरुङ्गी समाउन र पाल्न रुची राख्ने कँडेलले कालिज पालन थालेपछि अवलोकनका लागि दैनिक मान्छेहरु फर्ममा पुग्ने गरेको कालिज पालक चुडामणी कँडेल बताउँछन्।
कँडेलले ६ वर्ष अगाडि ‘सानो स्वर्ग’ नामको फर्म दर्ता गरेर व्यावसायिक रुपमा कालिज पाल्न थालेको हो । रुचीले पाल्न थालेको कालिज अहिले आम्दानीको स्रोत बन्न थालेपछि कँडेल खुसी छन् ।
कँडेलले उत्पादन गरेको कालिज बुर्तिबाङ, बागलुङसहित काठमाडौँसम्म पुग्ने गरेका छन् । भाले कालिजलाई २ हजार ५ सय र पोथी कालिजलाई १ हजार ५ सयमा विक्री गर्दै आएको छ । वार्षिक १२ लाखको कालिज विक्री हुने गरेको छ ।
कालिज पालनको सुरुवातमा एकै पटक ५ सय वटा कालिज मरेपछि लाखौँ रुपैयाँ नोक्सान व्यहोर्नु परे पनि सरकारी निकायबाट कुनै सहयोग पाएन। राज्यबाट अनुदान र तालिम पाउन सके अझै राम्रो गर्ने सोचमा रहेको चुडामणीका बुबा तुलसीराम कँडेल बताउँछन्।
पछिल्लो समय कालिज हेर्नका लागि धेरै मान्छेहरु आउने गर्छन् । कालिजले बजार पाउन सके आम्दानी पनि बढ्ने पनि उनीहरुको आँकलन रहेको छ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१ २१:५९