ललितपुर । ललितपुरस्थित डायनामिक बचत तथा ऋण सहकारी संस्था लि.को १६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष पुष्पप्रसाद श्रेष्ठद्वारा उद्घाटन गरिएको साधारणसभामा उपस्थित सदस्यहरूलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले सहकारी बारे अनेक भ्रम र हल्ला चलिरहेको वर्तमान परिस्थितिमा पनि डायनामिक सहकारी विधिसम्मत ढंगले राम्रोसँग सञ्चालन भइरहेको दाबी गरेको हो।
सहकारीको जग भनेको भनेकै शेयर सदस्यहरू रहेको उल्लेख गर्दै संस्थाका अध्यक्ष श्रेष्ठले सञ्चालक र शेयर सदस्यहरूबीचको आपसी विश्वास कायम रहेसम्म हल्ला र भ्रमले केही असर नगर्ने ठोकुवा गरे ।
यस्तै, संस्थाका उपाध्यक्ष शिवशंकर श्रेष्ठले स्वागत मन्तव्य राख्दै शेयर सदस्यहरूबाट प्राप्त विश्वासको कदर गरेर डायनामिक सहकारीले भविष्यमा अझ ज्यादा सेवा-सुविधाका कार्यक्रम ल्याउने तयारी गरिरहेको बताएका थिए भने सचिव नरेन्द्र शाक्यले आ.व. २०८०/८१ को कार्यक्रमबारे जानकारी दिएका थिए ।
संस्थाका कोषाध्यक्ष दिब्य बरालले आ.व. २०८०/८१ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीमा ५ सय १८ जना शेयर सदस्य रहेका र संस्थाको कारोबार लगभग ६ करोडको हाराहारीमा रहेको जानकारी दिएका थिए ।
सभामा अतिथिका रूपमा उपस्थित पुल्चोक टोलसुधार समितिका अध्यक्ष सुरेन्द्र शाक्यले शुभकामना मन्तव्य राखेका थिए भने विभिन्न विधा अन्तर्गतको पुरस्कार समेत प्रदान गरिएको थियो ।
पाँच सयको हाराहारीमा शेयर सदस्यहरूको उपस्थिति रहेको भव्य र सभ्य रुपले सम्पन्न सभामा संस्थाका सचिव नरेन्द्र शाक्यले कार्यक्रमको सञ्चालन गरेका थिए ।
प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१ १९:०६