नारायणगढ, चितवन । पवित्र तिर्थस्थल देवघाटमा ‘देवघाटधाम गण्डकी परिक्रमा महोत्सव-२०८१’ गरिएको छ।
नेपाल सन्त समाज देवघाटधामको आह्वानमा देवघाट क्षेत्र विकास समिति र देवघाट गाउँपालिका तनहुँ, भरतपुर महानगरपालिका चितवन र गैंडाकोट नगरपालिका नवलपुरको समन्वयमा महोत्सव गरिएको हो ।
मध्य नेपालको तनहुँ, चितवन र नवलपुर जिल्लामा फैलिएको पवित्र तिर्थस्थल देवघाटधामको धार्मिक महत्व एवं भौतिक विकासलाई संवर्धन गर्दै सन्तहरुको अगुवाइमा परम्परको निरन्तरतास्वरुप यो महोत्सव गरिएको गलेश्वर आश्रम देवघाटका महामण्डलेश्वर १००८ स्वामी आत्मानन्द गिरीले बताए।
उनका अनुसार देवघाटधाम र यस आसपासका धार्मिकस्थलहरु समेट्दै गण्डकी परिक्रमा गरिएको हो। धार्मिक क्षेत्रको परिक्रमा गर्दा ८४ लाख जुनी पार गरेको सरह हुने महामण्डलेश्वर गिरीले उल्लेख गरे ।
परिक्रमा देवघाटको तनहुँतर्फबाट वेणीसंगमहुँदै पशुपतिनाथ मन्दिर गङ्गा मन्दिर, अघोर आश्रम, गलेश्वर आश्रम, दुर्गा पाञ्चायन शक्तिपीठ, केदारेश्वर मन्दिरलगायत हुँदै चितवनतर्फ हुनेछ ।
चितवनको सङ्कल्पेश्वर हनुमान् मन्दिर, छेदेन थार्वलिङ् गुम्बा, वागीश्वरी मन्दिर, योगी नरहरिनाथ आश्रम गौशाला, गणेशधाम, महाबौद्ध गुम्बा, गौरेश्वर शिव मन्दिर, हरिहर मन्दिर नारायणगढहुँदै नवलपुरतर्फ हुनेछ ।
त्यसैगरी गैंडाकोटको गोपेश्वर महादेव मन्दिर, मौलाकालिका भगवती मन्दिर, श्रीमद्रामानुज वेदविद्याश्रम, शुकदेव भागवताश्रम, लक्ष्मी नृसिह दिव्यधाम मन्दिर, बेसक्याम्प केलादी क्षेत्र, हर्दी पछि पुनः तनहुँतर्फ देवपुर मणिमुकुन्देश्वर चक्रवर्ती आश्रमहुदै परिक्रमा सकिने आयोजकले जनाएको छ।
परिक्रममा हजारौको सहभागिता रहेको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१ २१:०९