काठमाडौं। नेपाली नोबल साहित्यकार बिक्रम भक्त जोशी र पावर अफ वुमन बिन्जु जोशीका माता-पिताको नाममा स्थापित “प्रभुभक्त–छोरीनानी वर्ष पुस्तक पुरस्कार-२०८०” प्रदान गरिएको छ।
शनिवार नारी स्रष्टा समाज नेपाल विराटनगरद्वारा काठमाडौंमा आयोजित विशेष समारोहमा ‘मिलन समीर र मिलन समीरहरु’ (शृङ्खला कविताहरु) २०८० लाई नगद ११ हजार राशिको “प्रभुभक्त-छोरीनानी वर्ष पुस्तक पुरस्कार-२०८०” प्रदान गरिएको हो।
नेपाली भाषामा देशैभरिबाट प्रकाशित भएका विभिन्न विधाकेन्द्रित उत्कृष्ट साहित्यिक पुस्तकहरु मध्येबाट पश्चिम नेपालको स्याङ्जास्थित गल्याङ् नगरपालिका-८ का युवा कवि मिलन समीरले लेखेको शृङ्खला कविताहरुलाई “प्रभुभक्त-छोरीनानी वर्ष पुस्तक पुरस्कार-२०८०” प्रदान गरिएको जानकारी आयोजक नारी स्रष्टा समाज नेपाल विराटनगरकी अध्यक्ष ममता मृदुलले दिएकी छन्।
मिलन समीरले लेखेको उक्त शृङ्खला कविता सङग्रहमा सात खण्डमा ७६ वटा कविता रहेका छन्। मिलन समीरका अहिलेसम्म ‘मिलन समीर र मिलन समीरहरु’ सहित तीन वटा कविता एक मुक्तक सङग्रह सहित चार वटा प्रकाशित छन्।
सोही समारोहमा ७३ वर्षीय अग्रज कवि भानुप्रकाश जोशीको जिन्दगीको पहिलो कृति श्वेताम्बराको विमोचन गरिएको थियो । लामो समयदेखि नेपाली साहित्य क्षेत्रको श्रीबृद्धि गर्ने र गराउने कार्यमा तल्लिन तपस्वी अग्रज साहित्यकार जोशीको मनछुने स्वेताम्बरा कविता संग्रहमा ३९ वटा मनछुने कविताहरुको अजम्बरी संग्रह छ।
जसलाई कवि जोशीले जीवनको अमूल्य निधि भएको बताएका छन्। कवि जोशीको कविता संग्रहको साथमा थप दुई कृतिको पनि विमोचन भएको थियो। त्यस्तैगरेर, अग्रज स्रष्टाहरु राजेश खनाल, त्रिभुवनचन्द्र वाग्ले नगद सहित पुरस्कृत भएभने, १४ जना स्रष्टा सम्मान–पत्रव्दारा सम्मानित भएका थिए।
प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१ ०८:५१