ढोरपाटन, बागलुङ । स्वास्थ्य तथा स्वास्थ्यमन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा परिणाम आउने खालका योजना कार्यान्वयन गर्न थालेको बताए ।
मंगलबार बागलुङको काठेखोला गाउँपालिका-६ स्थित बिहुँकोट आधारभूत अस्पतालको उद्घाटन गर्दै नयाँ सरकार गठनपछि नागरिक प्रत्येक्ष लाभान्वित हुने खालका कार्यक्रम ल्याएको उनले बताएको हो ।
स्वास्थ्य सेवामा आमनागरिकको सहज पहुँच हुने गरी काम गरिरहेको उनको भनाइ छ । आफू मन्त्री भएदेखि सरकारी अस्पतालका सेवालाई व्यवस्थित गर्दै लगिएको भन्दै सबै नागरिकलाई स्वास्थ्य बीमामा समेट्ने गरी मन्त्रालयले काम गरिरहेको मन्त्री पौडेलले बताए।
राज्यले धेरै ठाउँमा पूर्वाधार निर्माण गरि सकेको भन्दै अब जनशक्ति र उपकरण व्यवस्थापनमा आफू लागेको उनको भनाइ छ। अब सरकारले अस्पताललाई वर्गीकरण गरेर सेवा सुविधा बढाउने मन्त्री पौडेलले बताए।
बसाइँसराई गरेर खाली हुँदै गाउँमा निजी क्षेत्रले स्वास्थ्यमा लगानी नगर्ने भन्दै त्यहाँ राज्यले नै लगानी गर्नु पर्नेमा स्वास्थ्य तथा जनसंख्यामन्त्री पौडेलले जोड दिए ।
मन्त्री पौडेलले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध हुँदासेवाका आधारमा अस्पतालको वर्गीकरण गरि नागरिकलाई सहजरुपमा सेवा दिने बताउँदै अब कोही पनि नागरिक उपचार नपाएर मृत्युवरण गर्न नपर्ने उनको भनाइ छ।
प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१ १९:५५