चितवन । चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित इच्छाकामना माईँको मन्दिरमा भव्य पञ्चमी मेला लागेको छ।
मेला भर्न चितवन र यस आसपासका जिल्लाका भक्तजनहरुको विहानैदेखि भीड लागेको हो।
मन्दिरमा पहिलोपटक यस बर्ष सरकारी निकायका तर्फबाट पूजा गरिएको छ । गाउँपालिकाले आयोजना गरेको विशेष कार्यक्रममा फूलको डोलीसहित पञ्चेबाजा बजाएर पञ्चबलि चढाइएको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिए।
उनले कुरिनटारस्थित पालिकाको कार्यालयबाट बिहानै मन्दिरमा फूलको डोली लगेर बिशेष पूजासंगै प्रसाद वितरणको कार्यक्रम गरिएको बताए । यसबर्ष पञ्चमी मेला भर्न सबैभन्दा धेरै भक्तजन इच्छाकामना आएको उनले बताए।
कार्यक्रममा बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवाल, गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङ, पूर्वअध्यक्ष गीता गुरूङ, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतलगायतको उपस्थिति रहेको थियो।
मन्दिरमा मंगलबार देखिनै पञ्चमी मेला लागेको थियो । मेलाका अवसरमा धार्मिक पर्यटन प्रवर्द्धन गर्न गाउँपालिकाले मन्दिर संरक्षण समिति र त्रिवेणीकला केन्द्र मुग्लिनको सहकार्यमा विविध सांस्कृतिक कार्यक्रम पनि आयोजना गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिए । उनले मन्दिरलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न पालिकाले बजेट समेत विनियोजन गरेर काम गरिरहेको बताए।
मन्दिर संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराका अनुसार इच्छाकामना मन्दिरमा हरेक वर्ष पञ्चमीका अवसरमा रातभर मेला लाग्ने र बिहान पूजाआजाका साथै बलि चढाइने परम्परा छ । रातभर मेला लाग्ने बिहान पूजाआजाका साथै बलि चढाउने प्रचलन छ। केही वर्षदेखि इच्छाकामना गाउँपालिकाले मेलालाई भव्य रूपमा मनाउन आजका दिन सार्वजनिक बिदासमेत दिन थालेको छ।
गाउँपालिका उपाध्यक्ष माया सिलवालले धार्मिक पर्यटकीयको रूपमा विकास हुँदै गएको यस क्षेत्रमा मन्दिर पुनर्निर्माणसहित आवश्यक विभिन्न भौतिक संरचना निर्माण गरिएको बताए । उनका अनुसार मन्दिरको आम्दानीलाई पारदर्शी बनाउन गाउँपालिकाको मातहतमा ल्याइएको छ । पुजारी र हेरालु सरसफाइका कर्मचारीलाई गाउँपालिकाले मन्दिरको भेटी आम्दानीबाट तलब उपलब्ध गराउँदै आएको छ।
मनकामना देवीका सात दिदीबहिनीमध्ये इच्छाकामना एक बहिनी रहेको किंवदन्ती छ। इच्छाकामना माईको मन्दिरमा सन्तान नभएकाले भाकल र पूजाआजा गरे सन्तान प्राप्त गर्ने सदियौँदेखि जनविश्वास रहेको पाइन्छ।
समुद्री सतहबाट १ हजार ८ सय मिटरको उचाइमा इच्छाकामना मन्दिरको वरपर जङ्गलले ढाकेको छ । फागुन र चैतमा ढकमक्क फुलेको लालीगुराँसले वरिपरिको वातावरण रङ्गीन बन्छ । इच्छाकामनाबाट सफा मौसममा हिमाली शृङ्खला मनास्लु, गणेश, माछापुच्छ्र्रे देख्न सकिन्छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१ १४:५८