इलाम । इलाम गोल्डकपको दोस्रो संस्करण यहि मंसिर २२ गतेदेखि शुरु हुने भएको छ ।
रेडहर्स फुटबल क्लबले ठूलो टुँडिखेलमा मंसिर २२ देखि २९ गतेसम्म प्रतियोगिता आयोजना गर्न लागेको हो।
दोस्रो संस्करणमा पुरस्कार राशी बढाएर दोब्बर बनाइएको बताइएको छ । साथै नयाँ र ए डिभिजनमा खेलेका टीमहरुको सहभागिता रहने रेडहर्ष फुटबल क्लब, इलामका सचिव प्रकाश घिमिरेले बताए ।
मैदान मर्मत, दर्शक बस्नका लागि प्यारापिट निर्माण र आर्थिक सहयोगसहितका काम भइरहेको छ। बिगत वर्षहरुभन्दा यस वर्ष मैदानलाई ब्यवस्थित बनाइने बताइएको छ ।
गत वर्षको प्रतियोगिता भव्य भएकाले पनि यस वर्ष अझ जोशका साथ आयोजकले काम गरिरहेको छ। प्रतियोगितामा आठवटा टिमको सहभागीता रहने रेडवर्ष फुटबल क्लब, इलामका महासचिव प्रितम लिम्बुले बताए ।
विजेताले नगद १० लाख रुपैयाँ पाउनेछ । उपविजेताले पाँच लाख रुपैयाँ पाउने रेडहर्ष फुटबल क्लब इलामका अध्यक्ष तथा आयोजक समितिका अध्यक्ष साङ्गे यल्मुले बताए । उनका अनुसार गएको वर्ष ए डिभिजन क्लबको एउटा मात्र टीम रहेको भएपनि यस वर्ष सबै ए डिभिजनका टीमहरुको सहभागिता गराइने छ ।
प्रतियोगितामा करिव ८० लाख रुपैयाँ खर्च अनुमान गरिएको छ । प्रतियोगिताको मुख्य प्रायोजकबाट २० लाख रुपैयाँ र तथा गेट मनीबाट १८ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । विभिन्न सरकारी, गैरसरकारी संघसंस्था तथा ब्यक्तिहरुबाट समेत सहयोग जुटाउने काम भइरहेको बताइएको छ ।
प्रकाशित मिति: शनिबार, मंसिर ८, २०८१ १०:५४