काँक्रेविहार, सुर्खेत । डोल्पा जाने मुख्यद्वारमा बाला त्रिपुरासुन्दरी देवीको उत्पत्तिस्थल, सतीदेवीको एक अङ्ग पतन भएको ठाउँ र दश महाविद्यासमेत उत्पत्ति भएकाले मन्दिरको विशिष्टता छ ।
बाला त्रिपुरासुन्दरी मन्दिरस्थललाई ‘त्रिपुराकोट’ पनि भनिन्छ । यो पुरानो तिब्रिकोट जिल्लाको सदरमुकाम क्षेत्र हो।
यहाँको सुरम्य डाँडको मन्दिर परिसरमा चारैतर्फ सत्तल एवं पार्टी-पौवाहरूले घेरिएको बीचमा भगवतीको मन्दिर छ। मन्दिरको दक्षिणतर्फ रहेको एक प्राकृतिक शिलालाई ‘त्रिपुरादेवी’ भनिँदै आएको छ । यो एउटा भगवतीको भावनात्मक ‘शक्तिपीठ’ हो।
बाला त्रिपुरासुन्दरी धार्मिक पर्यटन क्षेत्र कर्णाली प्रदेशको सबैभन्दा ठूलो त्रिपुरासुन्दरी नगरपालिकामा पर्दछ। इसं १११४ मा स्थापना भएको विश्वास गरिने यो मन्दिर भौगोलिक रुपमा पनि पृथक छ। यसको चारैतिर होचो भू-भाग र दायाँबायाँ, तलमाथि विशाल नदीले घेरेको ठाउँ छ ।
यहाँ बीचैमा उठेको थुम्को र त्यसैको थाप्लोमा अडिएको विशाल संरचना छ । करिब सात हजार फिटको उचाइमा यो तीर्थस्थल रहेको छ।मन्दिर नेपालका परम्परागत मन्दिरभन्दा फरक शैली र आकारको छ । इसं १११४ मा स्थापना भएको विश्वास गरिने यो मन्दिर भौगोलिक रुपमा पनि पृथक छ ।
यस मन्दिरको पश्चिममा ताम्रावणी नदी, उत्तरमा मुकुटेश्वर हिमाल, दक्षिणमा भैरवी गङ्गा लगायतका प्रसिद्ध तीर्थस्थल रहेका छन् भने बीचको टाकुरामा यस मन्दिर अवस्थित छ ।
उत्तरतर्फबाट आउने ताम्रवर्णी, पूर्वबाट आउने सुन्दरी खोला र दक्षिणतर्फबाट झर्ने भैरवी खोलाको सङ्गमस्थल दोभानभन्दा अलिकति माथि डाँडाको टुप्पामा बालात्रिपुरासुन्दरी देवीको मन्दिर रहेको छ । यहाँ उत्तर र पूर्वबाट आउने खोलालाई ‘छलगाड’ भन्दछन्। यसै सङ्गमस्थलबाट भेरी नदीको सुरुआत हुन्छ ।
धार्मिक मान्यताअनुसार बाला त्रिपुरासुन्दरीबाट उडेर पुतलीरुपी देवीहरु बाँकेको बागेश्वरी, जुम्लाको कनिका सुन्दरी, सल्यानको खैरबाँङ, बैतडीको रणसैनी त्रिपुरेश्वरी, बाजुराको बडीमालिका लगायतका ठाउँमा गई त्यहाँ यिनै नामले प्रसिद्ध छन्।
बाँकी चार बहिनी देवी, बाला, त्रिपुरा, सुन्दरी डोल्पाको त्रिपुरासुन्दरीमा रहेको धार्मिक विश्वास छ। विराजमान चार देवी महाकाली, महालक्ष्मी, महासरस्वतीका नामले प्रसिद्ध छन् ।
परापूर्वकालदेखि नै यस मन्दिरमा न्यौपाने थरका पुजारीले पूजाआजा गर्दै आएका छन्। यो मन्दिर नेपालमा रहेका त्रिपुरासुन्दरी देवीका मन्दिरमध्ये प्रमुख शक्तिपीठ हो ।
‘त्रिपुरा सुन्दरी देवीको उत्पत्तिस्थल, सतीदेवीको अङ्ग पतन भएको ठाउँ र दशमहाविद्या समेत उत्पत्ति भएका कारण मन्दिरको अझ बढी महत्व रहेको पुजारी कृष्णचन्द्र उपाध्याय बताए ।
स्वस्थानीमा उल्लेख भएअनुसार सतीदेवीको अङ्ग (ढाड) पतन भएको शक्तिपीठका रुपमा यसलाई मानिन्छ। यस क्षेत्रमा वर्षाका देवता मेघले तपस्या गरेकाले चरम खडेरी परेको बेला पूजापाठ गरे पानी पर्ने जनविश्वास छ।
सतीदेवीको अङ्ग पतन भएपछि शक्ति स्वरुपाका रुपमा भैरवेश्वर महादेव उत्पत्ति भएको किंवदन्ती रहेको उपाध्ययले बताए।
सरकारले देशभरका १०० वटा नयाँ पर्यटकीय गन्तव्यको सूची सार्वजनिक गरेकामा डोल्पाका पनि तीन सम्पदा पर्यटकीय गन्तव्यमा परेका छन् ।