तम्घास, गुल्मी । गुल्मीमा पछिल्लो समय कृषि तथा पशुपालनमा युवाहरुको आकर्षण बढिरहेको छ। वैदेशिक रोजगारबाट फर्किएर युवाहरु गाउँले गाउँमै कृषि उद्यम गरिरहेका छन् ।
धुर्कोट गाउँपालिका १ नयाँ गाउँका चन्द्र ताम्राकारले १७ वर्षसम्म बिदेशी भूमिमा पसिना बगाए। १७ वर्षसम्म बिदेशमा पसिना बगाएर आर्थिक आर्जन गरे र अहिले गाउँ फर्किएर बाँझिएको जग्गामा खुर्सानी खेतीसँगै बाख्रापालन व्यवसाय सुरु गरेको छ।
यहाँको हावापानीसँगैै बजारीकरणको राम्रो सम्भावना भएको हुँदा २० रोपनी जग्गामा अकबरे खुर्सानीको खेती सुरु गरेको उनको भनाइ छ ।
प्रतिकेजी २ सय ५० रुपैयाँको दरले घरबाटै खुर्सानी बिक्री हुने र वार्षिक १५ लाख आम्दानी हुने कृषक ताम्राकारले बताए। एउटा अकबरे खुर्सानीको बोटले तीन वर्षसम्म उत्पादन दिने गर्दछ ।
वन्यजन्तुले नोक्सानी नपुर्याउँने, लगानी कम र आम्दानी धेरै अकबरे खुर्सानीमा हुने उनको अनुभव छ। विदेशमा कमाएको सीप धन आफ्नै माटोमा प्रयोग गर्न अन्य युवालाई उनी सुझाव दिन्छन्।
उनको फर्मबाट अहिले तीन जनाले स्थायी रुपमा रोजगार पाएको छ भने आवश्यकता अनुसार अन्य स्थानीयले पनि रोजगार पाउने गरेका छन् ।
राज्यको सेवा सुविधाबाट बञ्चित भएका नव कृषि उद्यमीलाई कृषि ज्ञान केन्द्र गुल्मीले खोजी-खोजी राहत र अनुदान दिने गरेको छ। धुर्कोट गाउँपालिकाले पनि किसानलाई उनको माग अनुसार सहयोग गरिरहेको अध्यक्ष भुपाल पोखरेलले बताए।
गुल्मीमा कृषितर्फ लाग्ने युवाहरुको सङ्ख्या बढिरहेको छ । राज्यले कृषिमा लागेको युवालाई कृषिमै टिकाईराख्न समय सापेक्ष कार्यक्रम ल्याउन आवश्यक छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१ ०८:४०