सिन्धुली । बारी र बगैँचा मात्रै होइन, यतिबेला सिन्धुलीका मुख्यचोक र बजारक्षेत्र पनि पाकेका जुनारले भरिभराउ छन्। किसान र व्यापारीलाई जुनार किनबेच गर्न भ्याईनभ्याई छ ।
पाकेका जुनार बजारसम्म पुर्याउन पहिलाजस्तो समस्या छैन। कच्ची सडकमा दुखले गुडेर भएपनि गाडी बगैँचासम्म पुग्ने गरेका छन्। तर, बजार र व्यापारीले दिने मुल्यसँग भने जुनार उत्पादन गर्ने किसान सन्तुष्ट छैनन्।
"जुनारको बजारीकरण, व्यवस्थापन तथा जुनारमा लाग्ने रोग र किरा नियन्त्रणको लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई, सिन्धुली र स्थानीय सरकारले किसानलाई सघाईरहेको छ।" गोलञ्जोर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्राकान्त चौधरीको भनाई रहेको छ ।
"जिल्लाको छुट्टै पहिचान बनाएको स्वादिष्ट जुनारले किसानलाई आत्मानिर्भर बनाउँदै गएको छ भने व्यापारीलाई स्वरोजगारको अवसर प्राप्त भएको छ ।" जुनार व्यापारी सावित्रा थापा मगर र लक्ष्मी सापकोटाले बताए।
"जुनार जिल्लाको पहिचान मात्रै कहाँ हो र ? यो त देश समृद्धिको प्रतीक पनि हो। यहाँको सबैभन्दा बढी गोलञ्जोर गाउँपालिकामा यसको उत्पादन हुन्छ ।" गाउँपालिका प्रमुख शंकरराज बरालले बताए।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई, सिन्धुलीका प्रमुख यम कुमार श्रेष्ठकाअनुसार जिल्लामा १ हजार ३ सय १८ हेक्टरमा जुनार, सुन्तलाको खेती भइरहेको छ भने ७ सय ९४ हेक्टरमा लगाइएको बोटले उत्पादन दिइरहेका छन्।
प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१ ०९:३४