पर्वत । पर्वतको जलजला गाउँपालिका-५ फलामेडाँडामा निर्माण शुरु भएको १३ वर्षमा पनि खानेपानी आयोजनाले पूर्णता पाएको छैन।
जलजला गाउँपालिका-१ मलगाउँ, वडा नं. २ को आरुबोट, वडा नं. ५ को डाँडाकटेरी, बनमडे, लोप्रे, फलामेडाँडा, गैरीगाउँ, टिमुरबोट, अन्नेचौरका ५ सय घरधुरीमा खानेपानी सुविधा विस्तार गर्ने उद्देश्यले वि.स. २०६८ मा जलजला कुकुरचिहान खानेपानी आयोजना निर्माण शुरु भएको थियो ।
पर्याप्त बजेट व्यवस्थापन नहुँदा खानेपानी आयोजना निर्माणको काम डेढ ढशकसम्म पनि पूरा हुन नसकेको जलजला गाउँपालिका-५ लेकफाँटका वडा अध्यक्ष तिलकबहादुर जिसीले बताए ।
संघीयता कार्यान्वयन शुरु नहुँदै थालिएको योजना नयाँ संविधान जारी भएपछि प्रदेश सरकारमा हस्तान्तरण भएको थियो। प्रदेश सरकारमा हस्तान्तरण भएपछि योजनाले निरन्तरता पाएपनि बजेट पर्याप्त आएनन्। खानेपानी सुविधाको आशमा रहेका बासिन्दाहरु निराश भएका छन् ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-८ मा पर्ने मोहरेडाँडाको फेदीमा रहेको कुकुरचिहान र लोप्रेको जङगलको मुहानको पानी संकलन गरेर घरघरमा धारा बनाएर बितरण गर्ने योजनाको लक्ष्य छ । स्थानीयबासीले पुरानो आयोजनाको सार्वजनिक धारा, व्यक्तिगत लगानीमा स्थानीय मुहानमा पाइपलाइन जोडेर, कुवा र खोल्साको पानी उपभोग गर्दै आएका छन्।
चालु आर्थिक वर्षमा भने ३ वटा शिर्षकमा सो आयोजनाका लागि २ करोड १० लाख बजेट बिनियोजन भएको छ। प्रदेश सरकारले जलजला कुकुरचिहान क्रमागत आयोजनालाई १० लाख बिनियोजन गरेको छ। संघीय खानेपानी मन्त्रालयले जलजला बृहत खानेपानी आयोजना १, ५ र ७ र बाँसखर्क कुकुरचिहान जलजला १-५ को शिर्षकमा १/१ करोड बिनियोजन गरेको छ।
संघीय र प्रदेश सरकारको खानेपानी आयोजना कार्यान्वयनको विषयमा जलजला गाउँपालिका, वडा कार्यालय, संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना र उपभोक्ता संस्था तथा उपभोक्ताहरुबीच छलफल एवम् निरिक्षण भएको छ।
प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१ २२:०२