कास्की । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौथरीले केहीदिनभित्रै १० औँ राष्ट्रिय खेलकुदको नयाँ मिति घोषणा हुने बताएको छ।
पोखरा रङ्गशालामा खेलक्षेत्रका विभिन्न व्यक्तिहरुसँगको छलफलमा मन्त्री चौधरीले यसअघि मङ्सिरमा कर्णाली प्रदेशमा तय भएको प्रतियोगिता तयारीका लागि समय नपुगेको र केही पूर्वाधार निर्माणको काम बाँकी रहेकाले सार्नु परेको बताएको हो।
उले आगामी फागुन अन्तिम साता गर्ने गरी तयारी गरिएको र शुक्रबार मिति घोषणा हुने जानकारी दिए। “खेल पूर्वाधार निर्माणको कार्य नसकिएकाले मङ्सिरमा राष्ट्रिय खेलकुद हुन सकेन । अब फागुन अन्तिम साताको टार्जेट राखेका छौँ। पर्सी बैठक बसेर मिति घोषणा गछौँ ।” मन्त्री चौथरीले भने ।
खेलकुदमन्त्री चौधरीले पोखरामा खेलकुदका पूर्वाधार निर्माणका लागि आगामी वर्षको बजेटमा व्यवस्था गर्ने प्रतिवद्धता जनाए। नेपालमा सन् २०२७ हुने महिला अण्डर १९ विश्वकप क्रिकेटका लागि पोखरामा समेत खेल सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गर्न बजेट विनियोजन गर्न सरकार प्रतिवद्ध रहेको मन्त्री चौधरीले उल्लेख गरे ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को टोलीले सन २०२७ मा हुने १९ वर्षमूनिको महिला विश्वकपका लागि केही दिनअघि पोखराको क्रिकेट मैदान निरीक्षण गरेको हो । आइसिसीले खेल पूर्वाधार निर्माण भएको खण्डमा यहाँ खेलाउन सम्भव हुने जनाएको थियो।
“विश्वकप क्रिकेट नेपालमा हुने बारेमा मलाई यसअघि जानकारी दिएन । तपाईहरुबाट जानकारी पाएपछि यहाँ खेल सञ्चालका पूर्वाधार निर्माणका लागि मन्त्रालयले अग्रसरता लिएका छ । ढुक्क हुनुहोस् विश्वकप क्रिक्रेटका खेल यहाँ हुन्छ।” मन्त्री चौधरीले भने।
उनले पोखरा खेलकुदका हिसावले धेरै सम्भावना रहेको र खेल पूर्वाधार समेत अन्यत्र भन्दा राम्रो रहेकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न सम्भव हुने उल्लेख गरे ।
प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१ ०९:०९