-पिपला ढुंगाना
सोच्छु भोको पेटलाइ मीठो गाँस कस्तो होला
अनाजले बिर्सेका बस्तीको आभाष कस्तो होला?
उज्यालोमा समानताको नारा लाउने मेरी आमालाई
पर्दा रात तर्साउने मुर्दा सन्त्रास कस्तो होला?
दिनभरि पर्खेको थाप्लो माथि नाम्लो पर्न पायो भने
साँच्चै उसको खुशीको रङ्ग खास कस्तो होला?
आँखै अगाडी छोरी बलात्कृत भएको देख्दा देख्दै
समाज हेर्ने आँखा जोगाउने साहस कस्तो होला?
जान्दछु म मानवता सस्तो छ? भन्ने प्रश्नको उत्तर र नि
जवाफमा नाइ नास्ती कुरिरहने आश कस्तो होला?
प्रकाशित मिति: आइतबार, साउन १०, २०७८ १४:१६