ढोरपाटन, बागलुङ । घरका ढोकामा ताला ठोकिएका छन् । भित्ता उप्किएर चिरा चिरा परेका छन्। घर वरपरका वनमारा पलाएको छ भने खेतीयोग्य जमिनमा झाडी पलाएर झपक्कै ढाकेका छन् । बागलुङको काठेखोला गाउँपालिका-५ कर्लिम गाउँ एक दशक अगाडिसम्म निकै रमाइलो थियो । तर अहिले बढ्दो बसाइँसराईका कारण गाउँ रित्तिदै गएको छ।
गाउँमा भएका घरहरु पनि खाली हुँदै गएका छन् । छरछिमेक र आफन्त सबै बसाईँ सरेर बजार झरेपछि अहिले गाउँमा रहेकाहरु निराश छन् । बसाइँ नसरेकाहरुले पनि आफ्नो परिवारलाई शहर बजारमा राखेका छन् । युवा शक्ति विदेश हुँदा गाउँमा बुढापाका बाहेक अरुलाई भेट्टाउँन सकिन्न । काठेखोला जिल्लामै धेरै बसाइँसराई गर्ने ठाउँ हो।
बसाइँसराइले गाउँमा हरेक वृद्धवृद्धालाई दुःख बिमार लाग्दा अस्पतालसम्म पुर्याउने मान्छे समय-समयमा समस्या पर्ने गरेको छ। गाउँघर झाडीले ढाकिन थालेपछि वन्यजन्तुको आतंक बढ्दै गएर त्रसित बन्नु परेको काठेखोला गाउँपालिकाका स्थानिय मैना सुवेदी, भिमलाल कँडेल र चिरञ्जिवी कँडेल बताउँछन् ।
युवा शक्ति विदेश पलायन भएका छन् । गाउँका हुने खानेहरु सेवा सुविधाको खोजी गर्दै बसाइँसराई गरेर बजार झरेपछि गाउँमा न्यूनवर्गका मानिसहरु मात्रै छ । स्थानीय सरकारले नागरिकका आधारभूत आवश्यकतालाई पूरा गर्दै गए पनि बसाइँसराई रोकिएको छैन। काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापा बताउँछन् ।
काठेखोलाको कर्लिम मात्र होइन जिल्लाको अन्य धेरै ठाउँबाट बसाइँसराई गर्नेको संख्या बढ्दै गएको छ। जसले ग्रामीण क्षेत्र सुनसान भएका छन् । सेवा सुविधा खोज्दै बजार झर्नेलाई गाउँमा रोक्ने गरि विकास गर्न नसके यस्ता थुप्रै गाउँहरु नरित्तिएलान् भन्न सकिन्न।
प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१ २१:५७