मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका-५ मा रहेको मनमोहक र सुन्दर क्षमाताल नयाँ पर्यटकीय गन्तब्यको रुपमा विकास हुन थालेको छ ।
निलगिरि हिमालको उत्तर पश्चिमी मोहोडाको फेदीमा रहेको क्षमाताल गोलो आकारमा रहेको छ। ठूलो तालको नजिकै केही माथि अर्को सानो र गोलो आकारको ताल छ ।
करिब ३ सय मिटर लम्बाई र १ सय ५० मिटर चौडाईमा फैलिएको निलो रङको तालमा निलगिरि हिमालको छाया देखिन्छ। घरपझोङ गाउँपालिका-५ ठिनी, मुस्ताङका स्थानीयबासी पूर्णलाल थकालीले बताए ।
सामुन्द्रिक सतहदेखि ३ हजार ४ सय ५० मिटर उचाईमा रहेको क्षमाताल पुग्न जोमसोमदेखि ठिनी हुँदै ४५ मिनेट सवारी साधन र एक घण्टा पैदलयात्रा गर्नुपर्छ ।
पहिले स्थानीय युवायुवतीहरु बर्खामा बनभोज खान आउने क्षमातालमा पछिल्लो दुई वर्षयता विदेशी र स्वदेशी पर्यटकहरु पनि आउन थालेका छन् । सिन्तामणी होटल, मुस्ताङका कर्मचारी, अनिष गौचनले बताए ।
मुस्ताङ घुम्न आउने पर्यटकको बसाई लम्बाउनका लागि क्षमाताललाई जोमसोमको सहायक गन्तब्यको रुपमा विकास गर्न लागिएको घरपझोङ गाउँपालिकाले जनाएको छ ।
क्षमातालको धार्मिक महत्व र प्राकृतिक सौन्दर्यको प्रचारप्रसारका साथै तालसम्म पुग्ने र त्यहाँदेखि तिलिचो ताल जाने पदमार्ग निर्माण गर्ने कामलाई निरन्तरता दिएको छ । घरपझोङ गाउँपालिका, मुस्ताङका अध्यक्ष मोहनसिङ लालचनले बताए।
ठिनीखोलाको बगरै बगर यात्रा गर्नुपर्ने भएकाले बर्खायाममा बाढी आउँदा समस्या हुने गरेको छ। ताल परिसरमा सार्वजनिक शौचालय र खानेपानीको ब्यवस्थापन गर्नुपर्ने त्यहाँ पुगेका पर्यटकहरुले बताउँछन् ।
प्रकाशित मिति: शनिबार, मंसिर २२, २०८१ ११:२६