नवलपुर, नवलपरासी । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट-१८ मा पर्ने बसेनीले सुन्तला गाउँको रुपमा परिचय फेर्न थालेको छ।
केही वर्ष अगाडिसम्म पाखोबारीको रुपमा रहेको जमिनमा गैँडाकोट-११ का गुप्तप्रसाद रेग्मीले टीआरटी कृषि फर्म सुरु गरेपछि स्थानीयले समेत उनलाई पछ्याउँदा गाउँले मुहार फेर्न थालेको हो ।
विसं २०७५ मा बसेनीमा ८२ रोपनी जग्गा गरेर उनले कृषि कर्मलाई अगाडि बढाएको हो। झाडीले घेरिएको जमिनमा उनले अहिले १ हजार ५ सय वटा सुन्तला, ८ सय वटा कागती, ३ सय वटा निबुवा, ६० वटा लप्सी, २५ वटा स्याउ, किबी, आँप, कटहर, लिची, टिम्मुर, चेरीलगायतका फलफूलका बोटबिरुवाहरु लगाएको छ । उनकाअनुसार आँप, कागती, निबुवा, सुन्तलासहितका फलफूलले आम्दानी दिन सुरु गरिसके ।
बसेनीको डाँडामा अहिले पनि लटरम्मै पाकेका सुन्तला छन् । गैँडाकोट-१८ का कृषक कृष्णबहादुर सारुमगरले समेत आफ्नो पाखो बारीमा १ हजार ३ सय ५० बोट सुन्तला लगाएको बताए ।
पानी नहुनाले अरु केही पनि खेती नहुने ठाउँमा अहिले सुन्तला लगाएर राम्रै उत्पादन भएको उनले बताए। सुन्तला बिक्री गर्न टाढा जानुपर्ने अवस्था नरहेको भन्दै उनले गाउँघरमै आएका मान्छेले किन्ने गरेका बताए। उनले आफ्नो बारीको सुन्तलासँग धानसमेत साट्ने गरेको बताए ।
यहाँ लगाइएको एउटै सुन्तलाको बोटमा एक क्विन्टलसम्म सुन्तला फल्ने गरेका छन्। बसेनीमा फलेका सुन्तला रसिला र मिठा हुने भएकाले बजारीकरणको समस्या नभएको स्थानीय बताउँछन् ।
यहाँ सुन्तला जोन लागू भएपछि अमिला प्रजातिका फलफूलका बिरुवामा ५० प्रतिशत अनुदान तथा मल, सिँचाइमा समेत अनुदान र प्राविधिक सहयोग हुँदै आएको कारण सुन्तला खेतीतर्फ कृषकको आकर्षण बढ्दै गएको छ।
प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१ ०९:०८