ढोरपाटन, बागलुङ । आइतबार गण्डकी प्रदेश सभा सदस्य दीपेन्द्रबहादुर थापा र बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठसहित झण्डै १ सयजना अतिथि बजारदेखि रायडाँडा गाउँलाई बालमैत्री वडा घोषणा गर्न पुगेका थिए।
बालमैत्री वडा घोषणापछि बागलुङ नगरपालिका-११ वडाका अध्यक्ष ज्ञानेन्द्र गौतमले प्रमुख अतिथिसहित कार्यक्रममा पुगेका पाहुनालाई चोयाको डोरीले बाँधेको रायो सागको मुठा मायाको चिनो भन्दै हातमा थमाइदिएको हो।
कलिलो सागको मुठा पाएपछि अतिथिहरु मुस्काउन थाले । वडा कार्यालयले मायाको चिनोका रुपमा गाउँका किसानले उत्पादन गरेको साग दिएपछि कार्यक्रममा सहभागी सबै खुशी भएका थिए।
आयातित वस्तुलाई मायाको चिनोका रुपमा दिनुभन्दा गाउँको उत्पादन दिँदा पहिचान हुने हुँदा यहाँ उत्पादन भएको रायो साग कोशेलीका रुपमा दिइएको हो ।
वडा नम्बर ११ स्थित रायडाँडा, तमाखुबारी र धारापानीका किसानले उत्पादन गरेको सागलाई खरिद गरि मायाको चिनोको रुपमा दिएको हो । वर्षौँदेखि यहाँका किसानले रायो साग बिक्रीबाटै आम्दानी गर्दै आएकाले हुँदा यसको प्रचारप्रसारका लागि मायाको चिनोमा साग दिइएको हो ।
मायाको चिनोमा फजुल खर्च गर्ने प्रचलन चलेको बेला यस वडाले आफ्नो पहिचान बोक्ने चिजलाई उपहार दिन सुरुवात छ। ग्रामीण क्षेत्रका नागरिकहरुले पनि स्थानीय उत्पादनलाई कोशेलीका रुपमा दिन आवश्यक देखिन्छ। साग उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्नका लागि नगरपालिकाले योजनासमेत ल्याएको छ ।
बागलुङ नगरकै सबैभन्दा दुर्गम वडाका रुपमा रहेको रायडाँडा कृषिमा निकै सम्भावना बोकेको भन्दै पालिकाले यहाँका किसानलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याईरहेको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१ २१:१५