नवलपुर, नवलपरासी । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोटका कृषकले पशुपालन व्यवसायबाट मासिक साढे १ लाख बचत गर्दै आएका छन् ।
गैँडाकोट-६ गैरीका कृषक नारायण पौडेलले गरेको पशुपालनबाट व्यावसायबाट सबै खर्च कटाएर मासिक १ लाख ५० हजारसम्म बचत हुने गरेको बताए ।
विसं २०७४ मा पौडेलले १५ लाख लगानी गरी सिर्जनशील उन्नत कृषि तथा पशु फर्म सञ्चालन गरेको बताए। पाँच वटा गाईबाट व्यावसायिक पशुपालन सुरु गरेको पौडेलसँग हाल ७ वटा माउ भैँसी, ९ वटा माउ गाई एवम् ५ वटा पाडी र एउटा बाच्छी रहेको छ।
फार्ममा रहेकामध्ये १४ वटा गाईभैँसी दुहुनो भएको भन्दै पौडेलले दुई वटा गाई ब्याउने रहेका बताए। पौडेलले दैनिक १ सय ५० लिटर दूध बिक्री गर्दै आएको छ । गाईभैँसीलाई दाना, तरकारी तथा घाँसखेतीका लागि मासिक बढीमा १ लाख ५० हजार जति खर्च हुने गरेको भन्दै सबै खर्च कटाएर मासिक १ लाख ५० हजार बचत हुने गरेको पौडेलले बताए।
आफूले उत्पादन गरेको दूध घरबाटै बिक्री हुने गरेको भन्दै पौडेलले गाईको दूध प्रतिलिटर ७५ र भैँसीको दूध १०० मा बिक्री हुँदै आएको बताए । पशुपालनमा आफ्नी श्रीमती, दिदी र भिनाजुले सघाउने भन्दै आवश्यक परेको अवस्थामा घण्टे खेताला (काम गरेको घण्टाको आधारमा पारिश्रमिक लिने श्रमिक) समेत लगाउने गरेको बताए ।
व्यावसायिक रुपमा कृषि तथा पशुपालन सुरु गरेपछि कृषि ज्ञान केन्द्रबाट गोठ निर्माणका लागि १ लाख ५० हजार अनुदान पाएको उनले बताए । त्यसैगरी भकारो (गोठ) सफा गर्नका लागि नगरपालिकाबाट ७५ प्रतिशत अनुदानमा समरसेबल ट्युबबेल निर्माण गरेको पौडेलको भनाइ छ ।
प्रकाशित मिति: सोमबार, पुस १, २०८१ ०९:०४