म्याग्दी, बेनी । म्याग्दीको मालिका गाउँपालिका-७ बिमका किसानलाई फुलवारीबाटै सुन्तला बिक्रि हुन थालेपछि बजार खोज्नुपर्ने झण्झट हटेको छ।
बिमको विभिन्न टोलबस्तीमा व्यावसायिक सुन्तलाखेती गरेका किसानहरुलाई अहिले सुन्तला विक्रि गर्न भ्याइनभ्याई भएको हाे।
उत्पादन भएको सुन्तला खरिदका लागि व्यवसायीहरु बगैँचामै आउन थालेपछि आफूहरुलाई उत्पादन भएको सुन्तलाको लागि बजार र ग्राहक खोज्नुपर्ने झण्झट हटेको बिमको दुलेका स्थानीय किसान कृष्ण शर्माले बताए ।
अहिले काठमाण्डौका व्यवसायीले बगानबाटै सुन्तला खरिद गरेर लगेका छन् । गाउँका सबैजसो बगानमा सुन्तला खरिदका लागि व्यवसायीहरु आइपुगेको शर्माले बताए ।
यहाँका कृषकले प्रतिकिलो ६५ रुपैयाँमा सुन्तला विक्रि गरेका छन् । शर्माले मात्रै यस बर्ष २ लाखभन्दा बढीको सुन्तला विक्रि गरेको छ। शर्माको १ सय बढी सुन्तलाका बोट रहेका छन् ।
गाउँमा मोटरबाटोको सुविधा पुगेपछि स्थानीयलाई सुन्तलाको बजार खोज्नुपर्ने बाध्यता हटेको हो। मोटरबाटो पुग्नुअघि स्थानीयले डोकोमा बोकेर छिमेकी गाउँ र दरबाङ बजारसम्म पुर्याएर सुन्तला विक्रि गर्दै आएका थिए ।
पछिल्लो केहि बर्ष यता बोटबाटै सुन्तला विक्रि हुन थालेपछि यहाँका कृषकहरु व्यावसायिक सुन्तला खेतीमा लागेका छन्। हरेक वर्ष शहरी क्षेत्रबाट व्यवसायिहरु सुन्तला खरिदका लागि पेश्की रकम लिएर गाउँमा पुग्ने गरेका छन् । बिमको अर्कला, नराले, ओखलढुङ्गा, दुले, टुनीबोट, नौमाने, भारबाङ, खार लगायतका क्षेत्रमा व्यावसायिक रुपमा सुन्तला खेति विस्तार भैरहेको छ ।
सुन्तला खेतीबाट आम्दानी राम्रो हुन थालेपछि अन्नबाली लगाउनुको साटो सुन्तला खेती विस्तार गरेको स्थानीय भिमप्रसाद विकले बताए। विदेश गएर दुःख गर्नु भन्दा आफ्नै गाउँमा सुन्तला रोप्न सक्यो भने त्यसबाट राम्रो आम्दानी गर्न सकिने उनको भनाई छ।
उत्पादन भएको सुन्तलाको ग्राहक खोज्नुपर्ने बाध्यता पनि छैन । यस क्षेत्रका किसानले सुन्तला खेतीबाट ५० हजारदेखि ८ लाखसम्म कमाई गर्दै आएका छन भने गाउँमा बार्षिक लाखौँ रुपैयाँ भित्रने गरेको छ ।
म्याग्दीमा उत्पादन भएको सुन्तला पोखरा, काठमाडौ, बुटवल, भैरवा लगायतका ठूला सहरमा निर्यात हुने गरेको छ । व्यावसायिक सुन्तला खेति भएका अधिकाँश बगानमा खरिदकर्ताहरु आफै पुग्न थालेपछि कृषकहलाई सुन्तलाको बजार अभाब नहुने र ढुवानी लगायतका झन्झट समेत हटेको छ।
प्रकाशित मिति: बुधबार, पुस ३, २०८१ ०८:५९