तम्घास, गुल्मी । गुल्मीका किसानले सुन्तला बिक्रीबाटै लाखौँ रुपैयाँ आम्दानी गर्न थालेका छन्। पुर्ख्याैली पेशाको रुपमा रहेको सुन्तला आजकाल नगदेबालीमा परिणत भएसँगै किसानको आम्दानी बढ्न थालेको हा ।
गत बर्ष फुटकर बिक्री गरी ७ लाख २० हजार र यो बर्ष सिंगो बगैँचा ७ लाख ९५ हजारमा बिक्री गरेको धुर्कोट गाउँपालिका-१ का खुमबहादुर पुनले बताए।
नयाँगाउँबाट गत बर्ष नै प्रतिकेजी ६५ रुपैँयासम्ममा सुन्तला बिक्री भएकोमा यो बर्ष प्रतिकेजी ७५ रुपैँयाँसम्मका बिक्री भएको छ। अधिकांश किसानले सुन्तलाको सिंगो बगैँचा नै बिक्री गरेका छन्।
सुन्तलाको लागि प्रख्यात ठाउँ नयाँगाउँमा सुन्तला खेती पुख्र्यौली पेशा भएपनि अहिले किसानहरुले थप व्यवसायिकरण गरेका छन्। गत बर्ष मात्रै ३ करोडको सुन्तला बिक्री भएको नयाँगाउँबाट यो बर्ष थप बिक्री हुने अनुमान रहेको वडाध्यक्ष चेतमान कुँवरले बताए।
गुल्मीको सुन्तला स्थानीय बजार हुँदै सदरमुकाम तम्घास, सन्धिखर्क, बुटबल लगायतका स्थानमा पुग्ने गर्दछ। कतिपय किसानहरुले फुटकर मूल्यमा बिक्री गर्छन भने कतिपयले बगैँचा नै एकमुष्ठ रुपमा बिक्री गर्दछन् ।
बगैँचा नै खरिद गर्ने व्यक्तिले सुन्तलाको ग्रेडिङ गरी बजारमा पु¥याउछन् । सुन्तला बिक्रीबाट भएको आम्दानीले किसानहरुको दैनिकी बदलिएको नयाँगाउँकै टिकाबहादुर हमाल र ध्रुव कुमारी पुनले बताए ।
सुन्तला लिन घरमै ब्यापारी आउने भएकाले बजारीकरणको कुनै समस्या छैन । तर यो बर्ष सुन्तलाको बिरुवा पहेँला हुने, माउ बोट सुक्ने, पहेँला हुने, जरा कुहिने, टुप्पा सुक्ने, पात पहेँला हुने, हागाँ सुक्ने जस्ता समस्या किसानले भोग्नुपरेको सुन्तला किसान कमला पोखरेलले बताए।
सुन्तला खेतीको बजारीकरणको लागि कुनै समस्या नभएकाले पालिकाले आवश्यक मल, बीउ, औषधी, सिँचाई लगायतका पक्षमा सहयोग गरेको बताउँछन् धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेल ।
यो बर्ष गुल्मीबाट बार्षिक झण्डै १५ करोडको सुन्तला निर्यात हुने अनुमान छ । तर आवश्यक प्रविधिको अभावले गर्दा सुन्तला विदेश पठाउन भने सकिएको छैन । त्यसकारण सुन्तलाको उत्पादन बृद्धि र विश्वबजारमा पुर्याउन सके रोजगारी सिर्जनामा समेत थप टेवा पुग्ने थियो कि ?
प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१ १९:३७