भोजपुर । भोजपुरको सबै भन्दा होचो स्थानमा रहेको प्रसिद्ध धार्मिकस्थल माइवेनी ओझेलमा परेको छ। धार्मिक महत्व बोकेको यो पर्यटकियस्थल प्रचार अभावले ओझेलमा परेको हो ।
समुन्द्रि सतहबाट १ सय ५३ मिटर उचाईमा रहेको माईबेनी हतुवागढी ९ हसनपुरमा रहेको छ। दूधकोशी र अरुण नदीको संगमस्थलमा रहेको माइवेँनीमा दर्शन गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक विस्वासले मानिसहरु यो ठाउँमा पुग्ने गरेका छन्।
दशक अघिसम्म यहाँ भव्यमेला लाग्ने गरेको भएपनि पछिल्लो समय मेला लाग्न छाडेको छ। यहाँ कात्तिक पूर्णिमा र माघे सङ्क्रान्तीमा ठूलो मेला लाग्ने स्थानीयबासीको भनाइ छ । माइवेँनीमा दर्शन गर्न तथा मेला भर्न भोजपुुर, उदयपुर, धनकुटा लगायत देशका विभिन्न ठाउँबाट भक्तजन आउने स्थानीयबासीहरुको भनाइ छ ।
नेपालमा भएको दश वर्षे सशस्त्रद्धन्दसँगै यो स्थानमा मेला महोत्सव लाग्न छाडेको स्थानीबासीको भनाइ। यो क्षेत्रको प्रचार प्रसारमा ध्यान दिन सके यसले गाउँपालिकाको आर्थिक विकासमा टेवा पुग्ने गाउँपालिकाका स्थानीयबासी लालबहादुर प्रधानले बताए।
माइवेनीको विकास तथा संरक्षणको लागि ध्यान दिँदै आएको हतुवागढी गाउँपालिकाले जनाएको छ। यहाँ पुग्नको लागि कोप्चेबाट अप्ठयारो ठाउँहरुमा पदमार्ग निर्माण तथा मन्दिरको संरक्षणसँगै यहाँ घेराबारा गरिएको गाउँपालिकाले जनाएको छ ।
माइवेनी क्षेत्रको बृहत्तर रुपमा विकास गर्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए । यसलाई गाउँपालिकासँगै जिल्लाको मुख्य धार्मिकस्थल तथा पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने योजना रहेको अध्यक्ष राईले जानकारी दिए ।
यो क्षेत्रलाई ग्रेट मुन्दुम मार्गसँग जोडेर पर्यटकीय क्षेत्रको रुपमा स्थापित गराउने उद्धेश्य रहेको अध्यक्ष राईको भनाइ छ। माइवेनीबाट किरातहरुको आस्थाको केन्द्र खुवालुङ, अरुण, दूधकोशी र तमोर नदीको संगमस्थल त्रिवेनी तथा बराह क्षेत्र नजिकै पर्ने भएकोले यसको बृहत्तर विकासमा जोड दिइएको गाउँपालिकाको भनाइ छ ।
यो क्षेत्रलाई तराईका जिल्लाबाट भोजपुर प्रवेश मार्गका रुपमा विकास गर्ने योजना रहेको गाउँपालिकाको भनाइ छ । यो स्थानबाट दूधकोशी पारी उदयपुरको वेलका नगरपालिका ७ र अरुण नदी पारी धनकुटाको सहिदभूमि १ गर्दछ । यो स्थान तीन ओटा जिल्लाको संगमस्थलको रुपमा समेत रहेको छ।
प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१ २२:४८