कास्की । प्राचिनकालमा गुरुङ समुदायको बसोबास रहेको क्होलासाेँथरलाई केन्द्रित गरेर गुरुङ सम्पदा पदमार्गको पहिचान गरिएको छ।
गुरुङ पर्यटन व्यवसायी संघले पहिचान गरेको कास्कीको मादी, लमजुङको क्होलासोँथर, मस्याङ्दी, दूधपोखरी, मनाङको चामे र नासो गाउँपालिका जोड्ने पदमार्ग संस्कृति र प्रकृतिको संगम हो ।
नुन लिन मनाङ जान आउन, भेडाबाख्रा र गाईभैसी चरनका लागि लेकबेशी गर्न पुर्खाहरुले प्रयोग गरेको बाटोलाई पछ्याउदै तयार पारिएको पदमार्गको नक्साङनपछि प्रचारप्रसार र पूर्वाधार निर्माणको काम सँगसँगै अघि बढाइएको बबरजंग गुरुङले बताए।
पदमार्गको प्रर्वद्धनका लागि पर्यटन बोर्ड, मादी गाउँपालिका, गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयको सहयोगमा यसै हप्ता पर्यटन व्यवसायी, पथपर्दशक र जनप्रतिनिधीहरुको टोलीले सिक्लेस–कपुुचे–क्होलासोँथर–कर्पुडाँडा–याङ्जाकोट हुँदै पुनः पोखरासम्म पदयात्रा गरेका छन्।
पदमार्गमा खोला, मनोरम पोखरी, ठूलाठूला खर्क, तालसँगै आकर्षक पाटनहरु भेटिन्छ । साथै अन्नपूर्ण, माछापुच्छ्रे, लमजुङ, हिमलुङ, गणेश, हिमालचुली, मनास्लुजस्ता हिमशृङ्खला नजिकैबाट अवलोकन गर्न सकिन्छ ।
सडक सञ्जाल विस्तारसँगै पदमार्ग हराउने र छोटिने क्रम बढिरहेको अवस्थामा गुरुङ सम्पदा पदमार्ग महत्वपूर्ण विकल्प बन्न सक्ने देखिन्छ।
पदमार्गका ठाउँठाउँमा होटेललगायतका पूर्वाधार विकास आवश्यक छ । सञ्चार, विद्युत र खानेपानीको सुविधा विस्तारका लागि पर्यटन ब्यवसायीले सुझाव दिएका छन् ।
प्रकाशित मिति: शनिबार, पुस १३, २०८१ १०:४४