ढोरपाटन, बागलुङ । पश्चिम बागलुङको बुर्तिबाङ बजारमा १७ वर्ष अगाडि जिल्ला अस्पताल सञ्चालन गरि ३२ करोडमा पूर्वाधार निर्माण गरियो तर अस्पताल सञ्चालनमा आउन सकेन ।
अस्पताल सञ्चालनमा आउन नसकेपछि यहाँ बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालन गरियो। २०५२ सालमा सामुदायिक स्वास्थ्य केन्द्रबाट बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्तरोन्नती भएको यस स्वास्थ्य संस्थागत २९ वर्षपछि प्रदेशस्तरीय ५० शैयाको अस्पतालका रुपमा स्तरोन्नति गरियो।
विसं.२०६४ सालमा निर्माण भएको पूर्वाधारमा अहिले प्रदेशिक अस्पताल सञ्चालन हुँदा पश्चिम बागलुङवासीमा खुसी छाएको छ।
ढोरपाटन नगरपालिका-१ बुर्तिबाङमा ५० शैयाको अस्पतालका रुपमा सेवा दिन थालेपछि अब बर्तिबाङ अस्पतालबाट निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका र बडिगाड गाउँपालिकासहित गुल्मी, रोल्पा, रुकुमका नागरिकले पनि सेवा पाउने छन्।
विसं.२०२१ सालमा झुपडीको दुई कोठामा स्थापना भएको स्वास्थ्य संस्था ६० वर्षपछि प्रादेशिक अस्पतालको रुपमा विकास भएको यस स्वास्थ्य संस्था २०३५ सालमा उपस्वास्थ्य चौकी, ४२ सालमा स्वास्थ्य चौकी, २०४८ समुदायिक स्वास्थ्य केन्द्र, २०५२ सालमा प्राथमिक स्वास्थ्यचौकीको रुपमा स्तरोन्नती भएको थियो । दूर दराजका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने प्रयास अहिले सफल भएको छ।
समान्य शल्यक्रिया गर्नका लागि पोखरा, पाल्पाम धाउनुपर्ने बाध्यताको अस्पताल स्थापनापछि अन्त्य भएको हो। हाल अस्पतालमा अहिले दुई विशेषज्ञ र तीन मेडिकल अधिकृत कार्यरत रहेका छन् ।
प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रादेशिक अस्पतालका रुपमा संचालन गर्दा जनशक्ति र उपकरण आवश्यक पर्ने हुँदा त्यसका व्यवस्थापन भए खास्सै समस्या पर्ने छैन । बुर्तिबाङमै प्रदेश स्तरीय अस्पताल सञ्चालनमा आएपछि अब यस क्षेत्रका नागरिकले अकालमा ज्यान गुमाउनु पर्ने छैन।
प्रकाशित मिति: आइतबार, पुस १४, २०८१ २०:१०