तम्घास, गुल्मी । गुल्मीको मालिका गाउँपालिकाबाटै राष्ट्रिय परिचय पत्रको आवेदन सेवा प्रदान गरेको छ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागसँग समन्वय गरेर पालिकाबाटै सेवा प्रवाह गरिएको हो ।
सदरमुकाम तम्घासमा मात्रै सिमित रहेको राष्ट्रिय परिचयपत्रको आवेदन सेवा गाउँपालिकाले प्रवाह गरेको छ। भौगोलिक विकटताका कारण सदरमुकाम तम्घाससँग पालिकाको दुरि टाढा रहेको हुँदा पालिकाले १४ दिन सम्म शिविरको आयोजना गरेर सेवा उपलब्ध गराएको हो।
पालिकामै सहज सेवा पाएपछी गाउँपालिकाका ८ वटा वडाका ४ सय ६३ जना नागरिकले आवेदन दिएका छन्। सदरमुकाम तम्घास जाँदा आउँदा नागरिकलाई धेरै दुख हुने र राष्ट्रिय परिचयपत्रबाटै बञ्चित हुने अवस्था आएपछि पालिकाले पहल गरेर शिविर सञ्चालन गरेको प्रमुख प्रशासकीय अधिकृत कमल क्षेत्री बताए ।
गाउँपालिकाका कतिपय ठाउँबाट सदरमुकाम आउन एकोहोरो भाडा ८ सयदेखि १ हजार रुपैयाँसम्म लाग्ने गर्दछ। पालिकामै सेवा पाएपछि नागरिक पनि खुसी भएका छन् । राष्ट्रिय परिचयपत्रको लागि खर्चिने समय, नगद खर्च, दुख हटेको जिया केसी र हुम बहादुर कार्कीले बताए।
सदरमुकाम तम्घासमा मात्रै सिमित रहेका सेवा सुविधा समय समयमा पालिका र वडा स्तरमा ल्याउनुपर्ने माग मालिकावासीको छ।
राष्ट्रिय परिचयपत्र व्यक्तिका परिचय प्रमाणिकरणको डिजिटल समाधान हो भनेर राज्यले ब्याख्या गरेपनि नागरिकलाई यसको महत्वबारे बुझाउन आवश्यक छ ।
प्रकाशित मिति: आइतबार, पुस १४, २०८१ २१:४८