कास्की । लमजुङ हिमालको काखमा झुरुप्प ढुङ्गे घरहरु रहेको गुरूङ बाहुल्य गाउँ प्रकृति र संस्कृतिको संगम कास्कीको मादी गाउँपालिका-१ मा पर्ने सिक्लेसको नेपालको राजनीतिक परिवर्तनको इतिहाससँग जोडिएको छ ।
पोखरादेखि ४१ किलोमिटर दुरिमा रहेको सिक्लेसमा मनोरम प्रकृतिसँगै गाउँले परिवेश, रहनसहन, रैथाने खाना र आतिथ्य संस्कारले लोभ्याउँछ । एकै बान्कीका घर, ढुंगा र जस्ताका छाना । ढुङ्गाकै आँगन र बाटो । पुरानो वास्तु झल्काउने झ्यालढोका । स–साना गल्ली, गल्छेँडा र तगारा सिक्लेसका सौन्दर्य हुन् । सिक्लेस नजिकै करिब ४ सय मिटर लामो झोलुङ्गे पुल छ ।
विसं २०६३ असार २ गते तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूमिगत राजनीतिपछि पहिलो पटक सिक्लेसमा सार्वजनिक भएको थियो ।
त्यसको केही महिनापछि विस्तृत शान्ति सम्झौता भएको थियो । शसस्त्र संघर्षको बैठानसँगै शान्ति प्रक्रियाको प्रस्थानबिन्दुका रुपमा लिइने सिक्लेसमा शान्ति स्मारक पनि बनेको छ ।
पाहुनाको सुविधाका लागि सिक्लेसमा होम स्टे (घरवास) र होटल तथा लजहरु छन् । सिक्लेस पुग्ने पर्यटक गुरूङ संग्रहालय, शान्ति स्मारक, सिक्लेस पार्क, हिमालको दृश्यावलोकन, गुरूङ जातिको मन्दिर, मौलिक संस्कृति, भेशभूषा, झाँकी, नाचगीत आदिमा रमाउने वडा अध्यक्ष देवीजङ गुरुङले बताए ।
पोखरादेखि दुई÷अढाई घण्टाको मोटरयात्रामा पुगिने सिक्लेस अन्य पर्यटकीयस्थलमा जाने केन्द्र पनि हो। सिक्लेस–हुगु–कपुचे, सिक्लेस–तस–कोरी, सिक्लेस–ताङतिङ, सिक्लेस–ताराहिल–घलेखर्क, सिक्लेस–खिलाङ–चिप्ली पदमार्ग छन् ।
प्रकाशित मिति: सोमबार, पुस १५, २०८१ २२:१३