त्रिशूली, नुवाकोट । नुवाकोटको पञ्चकन्या गाँउपालिका-४ मा अवस्थित ऐतिहासिक धार्मिक तथा पर्यटकीयक्षेत्र घ्याङस्वारा आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।
जिल्लाको मध्येबिन्दु एवम् संघीय राजधानी काठमाडौबाट ३६ किलोमिटरको दुरीमा रहेको घ्याङस्वारा २ हजार २ सय मिटर उचाईमा पर्ने भएकाले उच्च स्थानबाट मनोरम दृष्यको अवलोकनका लागि अहिले हिउँद यामको समयमा पर्यटकको आवागमन निकै बढेको हो।
अहिले दैनिक सयौँको सङ्ख्यामा आन्तरिक पर्यटकको आवागमन भइरहेको गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ (रमेश) ले जानकारी दिए।तामाङका अनुसार पञ्चकन्या गाँउपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत बुट्यान–झाडी हटाई धार्मिक एवम् पर्यटकीय क्षेत्रको रुपमा आवश्यक संरचना निर्माणको काम जारी राख्दै आएको छ ।
“पर्यटक अलमल्याउन आवश्यक संरचना सहित भूमेदेवी मन्दिर व्यवस्थापन, खेल मैदान, घरबास (होमस्टे) निर्माण गरेसगैँ नुवाकोट सहित आसपासबाट बनभोज, घुमफिर एवम् विभिन्न औपचारिक कार्यक्रममा आउने पर्यटकको सङ्ख्या दैनिक १ हजारको हाराहारीमा आइरहेका छन्।” अध्यक्ष तामाङले भने “स्थानीय कृषि उपजको उपभोग, खरिद–बिक्री सहित आर्थिक गतिविधि चलायमान बनेको छ।”
प्रधानमन्त्री रोजगार कार्यक्रम सहित उक्त स्थानमा गाउँपालिकाले सशस्त्र द्वन्द्धको क्रममा ज्यान गुमाएका शहीदको शालिक सहित पार्क निर्माण र पालिकाबासीको श्रमदानबाट चियाका बिरुवा समेत रोपण गरेको छ । भ्यालीको रुपमा रहेको उक्त स्थानमा हरियाली चिया बगान, पानी, बत्ति, शौचालय, निःशुल्क इन्टरनेट, फोटो भिडियो बनाउन चाहनेलाई ठाउँठाउँमा तयार गरिएका ‘सेल्फी प्वाइन्ट’ले घ्याङस्वारा पुग्नेको मन लोभ्याउनेछ।
छोटो अवधि (पछिल्लो पाँच वर्ष)मा नुवाकोटको उत्कृष्ट गन्तव्यको रुपमा पर्यटकको रोजाईमा परेको छ। “घ्याङस्वाराको प्रचारप्रसार असाध्यै बढेको छ। खुला स्थानको खोजीमा काठमाडौबाट नजिकै पर्ने भएकाले यहाँ आउनेलाई खाजा-खानालाई चाहिने कृषि उब्जनी बिक्री तथा घरबास र होटल सञ्चालनबाट राम्रो आम्दानी गर्न थालिएको छ ।” गाउँपालिकाले सरकारी घरबास (होमस्टे)को निर्माण गरेको छ। निजी क्षेत्रबाट पनि आकर्षक होटल तथा रेष्टुरेन्ट र घरबासको निर्माण भइरहेका छन् ।
गाउँपालिकाले घरबास सञ्चालन र पूर्वाधार निर्माणमा सहजिकरण गर्दै आएको छ । स्थानीयलाई आर्थिक उपार्जनमा केन्द्रित गराउन यसबाट टेवा पुगेको छ । १ सय ५० रोपनी क्षेत्रफलमा फैलिएको घ्याङस्वाराको उचाई १ हजार ७ सयदेखि २ हजार २ सय मिटरसम्म खुला भ्यालीको रुपमा अवस्थित छ। उच्च स्थानमा रहेको भूमेस्थान गणेश मन्दिर पुग्ने पदमार्ग चिया बगानको मध्येबिन्दुबाट बनाइएको हुँदा घुमफिर सहित हिन्दू र बौद्धमार्गीको तिर्थाटनको रुपमा महत्व बढेको छ ।
पञ्चकन्या गाउँपालिकाको केन्द्र लाकुरीभञ्याङसम्म कालोपत्र सहितको व्यवस्थित सडक भएपनि करीब पाँच किलोमिटर ग्रामीण सडक भएकाले उक्त स्थानमा व्यवस्थित सडक सहित थप पूर्वाधार निर्माणका लागी गाउँपालिकाले माथिल्लो सरकारसँग सहयोगको अपेक्षा गरेको छ। सोही अनसार निर्माणाधीन खेल मैदानलाई बहुउद्देश्यीय रङ्गशाला बनाउने परिकल्पना सहित पूर्वाधार निर्माणमा सोही स्थानबाट प्रतिनीधित्व गर्दै प्रतिनीधिसभा सदस्य भएका नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले चासो देखाएको छ ।
पर्यटकीय गन्तव्यको आकर्षक केन्द्र बन्दै आएको घ्याङस्वारामा गाउँपालिकाले बनाएका संरचना र परिकल्पनालाई थप पूर्वाधार निर्माण सहित व्यवस्थित सडक, भूमेस्थान मन्दिरको जगेर्ना एवम् खेलमैदानलाई बहुउद्देष्य रङ्गशाला निर्माणमा आफूले पहल गर्ने प्रतिबद्धता जनाए।
नुवाकोट र यस आसपास जिल्लाका हिमश्रृङ्खला अवलोकन सहित मनोरम वातावरणमा रमाउन सकिने भएकाले यस स्थान थप व्यवस्थित बनाउने परिकल्पकना गरिएको नेता महतको भनाई छ । त्यसका लागि आगामी वर्ष आवश्यक बजेट उपलब्ध गराउने उनले आश्वासन दिए।
“सबैभन्दा उच्च स्थान (२ हजार २ सय मिटर) को थाप्लोमा रहेको भूमेस्थान गणेश मन्दिर, निर्माणाधीन खेल मैदान, उक्त स्थान पुग्नलाई बाँकी रहेको सडक कालोपत्र र सोही ठाउँबाट दुप्चेश्वरको गोल्फूभञ्ज्याङ्ग हुँदै सिन्धुपाल्चोकलाई जोडेर सडक निर्माण मार्फत पर्यटकीय सडक मार्ग निर्माणको सोंच लिएका छौं ।” पूर्वमन्त्री एवम् प्रवक्ता महतले भने, “यस भूमिको काखमा म हुर्किएको हुँ। यसका लागी पर्यटन र भौतिक पूर्वाधारको क्षेत्रबाट बहुशीर्षकमा बजेटको सुनिश्चित गर्नेछौं ।” पर्यटन प्रबद्धनको लागि नुवाकोटमा ककनी, सूर्यचौर, शिवपुरी निकुञ्ज पश्चात घ्याङस्वाराबाट पनि लाभ लिन थालिएको छ ।