ढोरपाटन, बागलुङ । बागलुङको काठेखोला गाउँपालिका-८, लेखानी गाउँ बसाइँसराईका कारण विस्तारै रित्तिदै छ। हुने खानेहरु सहर बजार झरेपछि गाउँमा अहिले न्यून आए भएका परिवार मात्रै छन् ।
गाउँमा बस्दै आएका स्थानियले व्यवसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गर्नुका साथै जीविको चलाउँदै आएका छन्। गाउँका झण्डै १ सय घर परिवार तरकारी खेतीमा आवद्ध छन् । उनीहरुलाई विभिन्न स्थानीय सरकार र विभिन्न संघ संस्थाले प्राबिधिकसहित तालिमको सहयोग र अनुदान समेत दिने गरेका छन् ।
लेखानी गाउँको टोल–टोलमा प्लास्टिकका टनेल भेटिन्छन् । छरिएर रहेको गाउँमा किसानले व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएपछि उनीहरुको जीवनस्तरमा पनि सुधार आउन थालेको छ ।
गत वर्ष गाजा फाउण्डेशनले ५० परिवारलाई तरकारी खेती गर्ने तालिम र अनुदान समेत दिएको थियो। त्यसपछि गाउँमा तरकारी खेती गर्नेको लर्को लाग्न थालेको छ । तरकारी बेचेरै यहाँका धेरैले दैनिकी चलाउने गरेका छन्।
यहाँका किसानले उत्पादन गरेको तरकारी बागलुङमा खपत हुने गरेको छ । पहिले कोदो, मकै, र तोेरी फल्ने बारीमा अहिले लटरम्म गोलभेडा, बन्दा, काउली र साग उब्जि रहेका छन् । गत वर्ष असारमा सञ्चालन भएको सीपीआई कार्यक्रमले किसानलाई व्यवसायिक बन्न प्रेरित गरिरहेको छ ।
गाउँमा केही छैन भनेर शहर झर्ने र विदेश पलायन हुनेलाई यहाँका किसानले गलत सावित गरि दिएका छन्। उनीहरुले वार्षिक एकदेखि १० लाखसम्मको तरकारी विक्री गर्ने गरेका छन् ।
प्रकाशित मिति: आइतबार, पुस २१, २०८१ १५:४२