काठमाडौं । गायक तथा संगीतकार योगेश वैद्यको सम्झनामा एक सांगीतिक समर्पण तथा उनीद्वारा स्वरबद्ध गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
उक्त कार्यक्रम सीता संगीत स्मृति तथा नेपाल कला संस्कृति उत्थान समाजको संयुक्त आयोजनामा पाँगाको कीर्तिपुर सिनेप्लेक्समा भएको हो।
वरिष्ठ लोकगायक, संगीतकार एवं गीतकार रत्न बेहोशीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि मदनकृष्ण श्रेष्ठ, निर्देशक, छायाँकार तथा सम्पादक पत्रकार राजेन्द्र डंगोलले गायक वैद्यलाई सम्झेर भावुक मन्तव्य राखेका थिए। कार्यक्रममा गायक वैद्यले संगीतबद्ध गरी गाएको जनकवि दुर्गालाल श्रेष्ठको नेपालभाषाको ‘छ न्हूगु हे छेँय् छन्हु वनीतिनि’ बोलको गीत सार्वजनिक भयो ।
उक्त गीतको निर्देशन, छायाङ्कन तथा सम्पादन राजेन्द्र डंगोलले गरेको हो। जसमा परिकल्पनाकार तथा सह-निर्देशन राजु महर्जनको रहेको छ भने श्रङ्गारमा वरिष्ठ मेकअप आर्टिष्ट सनमकुमार श्रेष्ठ रहेको छ।
म्यूजिक भिडियोका मुख्य परिकल्पनाकार साहित्यकार नवीन चित्रकार रहेएको छ। म्यूजिक भिडियोमा वरिष्ठ कलाकार सुरज ब्यञ्जनकार तथा नव प्रतिभा सुमिना महर्जनले अभिनय गरेको छ भने गीतमा गायिका रिता महर्जनले पनि साथ दिएका छन्।
स्रष्टा वैद्यबाट सिकेका उनकै सिर्जनाह गायिका रिता महर्जनले आफ्ना गुरुप्रति समर्पण गर्दै पाँच वटा गीत गाएका थिए।
कार्यक्रममा नेपाली सांगीतिक जगतका ख्यातिप्राप्त हस्तिहरु वरिष्ठ गीतकार चुडामणी देवकोटा, वरिष्ठ गीतकार एवं गजलकार डा। कृष्णहरि बराल, वरिष्ठ गीतकार बालकृष्ण सजिव , वरिष्ठ संगीतकार शक्ति वल्लभ, वरिष्ठ गजलकार भूषणप्रसाद श्रेष्ठ, वरिष्ठ गायक एवं संगीतकार अमरराज शर्मा, वरिष्ठ शास्त्रीय गायिका प्राध्यापक संगीता प्रधान राना, वरिष्ठ गायक जुजुकाजी रञ्जित, वरिष्ठ गायिका रमना श्रेष्ठ, लोककवि राजभाई जकःमि, संगीतकार राजु सिंह, संगीतकार बदन शर्मा, संगीतकार गुजे मालाकार, संगीतकार, हरिशरण सायमी, संगीतकार तिर्थ माली, काठमाडौं महानगरपालिका-१८ वडाका वडा अध्यक्ष न्हुच्छेकाजी महर्जन, साहित्यकार एवं मानव अधिकारवादी मल्ल के सुन्दर, नेवाः दे दबूका अध्यक्ष पवित्र बज्राचार्य, साहित्यकार प्रद्युम्न जोशी, वरिष्ठ कलाकार कृष्णभक्त महर्जन र वरिष्ठ कलाकार नगिना जोशी लगायतको उपस्थिति रहको थियो ।
संचारकर्मी सुरजबीर बज्राचार्यले सञ्चालन गरेका कार्यक्रममा किर्तीपुर सिनेप्लेक्सका प्रोप्राइटर तथा नेपाल कला संस्कृति उत्थान समाजका अध्यक्ष विजयलाल डंगोलले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सीता संगीत स्मृतिका सदस्य नीता महर्जन रञ्जितले धन्यवाद ज्ञापन गरेका थिए ।