म्याग्दी, बेनी । म्याग्दीको सदरमुकाम बेनी हुँदै बग्ने कालीगण्डकी नदीमा जलयात्राका लागि ‘र्याफ्टिङ’ सञ्चालन गरिएको छ।
जलयात्राको सम्भावना उजागर गर्दै पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले बेनी नगरपालिका-८ जलेश्वर र बगरफाँटबाट कालीपुल हुँदै म्याग्दी र कालीगण्डकीको दोभानसम्म पुग्न सकिने गरि ‘र्याफ्टिङ’ सञ्चालन गरिएको हो ।
जलेश्वरदेखि बेनीसम्मको करिब दुई किलोमिटर दूरीमा गरिएको जलयात्रा सञ्चालन गरिएको हो । जलेश्वरदेखि दोभानसम्म प्रतिव्यक्ति ८ सय र बगरफाँटदेखि प्रतिव्यक्ति ६ सय शूल्क तोकिएको छ ।
‘र्याफ्टिङ’का लागि उत्तम मानिने कालीगण्डकी नदीको जलयात्राका साथै पहाडी भूगोल र तटीय क्षेत्रका बस्तीको अवलोकनले थप रोमाञ्चक बनाउँछ। बेनी आसपासको क्षेत्रमा छोटो दूरीको जलयात्रामा पनि जोखिम कम र रोमाञ्चक बढी हुन्छ ।
दुई वटा आठ–आठ जना यात्रु क्षमताको ‘र्याफ्टिङ’ बोट सञ्चालनमा ल्याइएको छ । जलेश्वर–बेनीलाई प्राथमिकता दिइएको भए पनि यात्रु र पर्यटकको चाहनाबमोजिम मालढुङगाबाट नयाँ पुल हुँदै मिर्मीसम्म पनि जलयात्रा गराउन सकिने जनाइएको छ। बेनीबाट मिर्मी तीन दिनको यात्रामा पुग्न सकिन्छ।
प्रकाशित मिति: आइतबार, माघ ६, २०८१ २०:५४