नारायणगढ, चितवन । चितवनको माडी नगरपालिका-८ स्थित शिबद्वारमा रहेको अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टे (घरबास)मा यतिबेला पाहुनाको चहलपहल निकै रहेको छ ।
चितवन राष्ट्रिय निकुञ्जसँगै जोडिएको यस बस्तीमा बि.सं. २०७२ सालमा ११ घरधुरी मिलेर सञ्चालनमा ल्याइएको हो। यहाँ अहिले १५ घरधुरी रहेको होमस्टेमा प्रत्यक्ष संलग्न रहेका छन् ।
होमस्टे व्यवस्थापन समितिका अध्यक्ष मोहनबहादुर पुनमगरका अनुसार होमस्टेमा १ सय जना पाहुना राख्न सक्ने क्षमता रहेको छ। शुक्रबार र शनिवार यहाँ बस्न आउने पाहुनाहरु धेरै हुने उनले बताए ।
यहाँ नअँटेका पाहुनाहरुलाई माडीकै अन्य होम स्टेमा पठाउने गरेको भन्दै उनले माडीमा यस्तै विभिन्न समुदायले सञ्चालनमा ल्याएको ७ वटा होम स्टे रहेको जानकारी दिँदै उनले देशभरी नै एउटै पालिकाभित्र धेरै होम स्टे रहेको माडी मात्र भएको दावी गरे।
होम स्टेले यहाँ सबैको जीवनस्तर उकासिएको उनी बताए । आयआर्जनसँगै आफ्नो मौलिक संस्कृति पनि जोगिएको उनले बताए। अध्यक्ष मगरले होम स्टे सञ्चालनमा आएसँगै यहाँका युवाहरु विदेश पलायन हुनबाट रोकिएको बताए ।
भरतपुरबाट एकदिनको लागि होम स्टेमा पाहुना बस्न गएमा हेमराज रिमाल र सरोज उपरकोटी यहाँ निकै राम्रो सेवा सुविधा पाउँने बताए।
प्रकाशित मिति: आइतबार, माघ १३, २०८१ २१:२२